श्रीलङ्काले मनायो स्वतन्त्रता दिवस

  एक भएर चुनौतीको सामना गर्न राष्ट्रपतिको अपिल 
शुक्रबार, माघ २३, २०७७

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापक्षले आफ्ना नागरिकहरुलाई मुलुकले सामना गरिरहेका चुनौतीहरूको समाधानका लागि थप प्रयास गर्न अपिल गरेका छन् । 
श्रीलङ्काको ७३ औं स्वतन्त्रता दिवसका अवसरमा राजपाक्षले भने, ‘श्रीलङ्काले आफ्नो स्वतन्त्रताको ७३ वर्षमा धेरै चुनौतीहरूको सामना गर्नुपरेको छ । राष्ट्रको विकासका क्रममा अझै धेरै समस्याहरूको सामना गर्नुपर्ने अवस्थाको सिर्जना हुनसक्छ ।’राष्ट्रिय सुरक्षा स्थापना, विभिन्न समुदायबीच साँचो मेलमिलाप प्राप्त गर्ने र दिगो आर्थिक विकास गर्न र गरिबीलाई उन्मूलन गर्न सक्ने एक सशक्त अर्थव्यवस्था निर्माण गर्ने चुनौतिहरू अझै हाम्रो सामु छन्’, राजापाक्षले भने । ‘कोभिड–१९ महामारीको कारण सारा विश्व सङ्कटमा रहेको समयमा श्रीलङ्काले पनि विकास कार्यहरू सञ्चालन गर्न र सामान्य जीवन बिताउन गम्भीर समस्या भोग्नु प¥यो । केही समयदेखि देशको आर्थिक वृद्धि खस्किए’, उनले भने, ‘तर यी समस्यालाई चालु आर्थिक वर्षमा नै सुधार ल्याउनु पर्छ । धेरै देशहरूले कोभिड– १९ विरूद्धका खोपहरूको सफलतापूर्वक विकास गरेका छन् र ती खोपहरू तुरुन्तै प्राप्त गर्न आफ्नो देशले भारत, चीन र रुससँग छलफल गरिसकेको छ ।’ केही समयभित्र सबै नागरिकलाई पुग्ने गरी खोपका लागि सम्झौता गर्ने उनले जानकारी दिए । ‘यस विषयमा विश्व स्वास्थ्य संगठनसँग पनि छलफल भएको छ । तसर्थ हामीले एउटा खोप प्राप्त गरिसकेका छौँ । हामीले खोप कार्यक्रम शुरु गरिसकेका छौं । यो खोप कार्यक्रम कुनै बाधाबिना सञ्चालन गरिने छ’, राजापक्षले भने । श्रीलङ्काले आफ्नो ७३ औं स्वतन्त्रता दिवस बिहीबार राजधानी कोलम्बोको स्वतन्त्रता स्क्वायरमा आयोजित भब्य सैनिक परेडको साथ मनाएको हो । कोभिड–१९ विरूद्ध कडा स्वास्थ्य दिशानिर्देशन अन्तर्गत आयोजित परेडमा हजारौं सैन्य सेवा सदस्यहरू र प्रहरी अधिकारीहरू सहभागी थिए ।–सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  ०५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार