काठमाडौं विश्वकै आठौँ प्रदूषित सहर, यी हुन् नेपालका 'रेड जोन' सहर

शनिबार, मंसिर ४, २०७८
काठमाडौं, ४ मंसिर : नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम-२.५ (पार्टिकुलेट म्याटर)को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ । जुन घातक हाे ।
नेपालमा पनि याे सूचकांक पाँच सयसम्म नाघ्ने गरेकाे छ ।
यद्यपि, शनिबार बिहान काठमाडाैंमा पिएम-२‍.५ काे मात्रा प्रतिघन्टा १७६ सम्म पुगेको आइक्युएरको तथ्यांकमा उल्लेख छ । यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ । वातावरण स्वास्थ्य विज्ञ यादवराज जाेशीले काठमाडाैंमा दुई दिनयता बदली हुँदा वायु प्रदूषण बढ्दै गएकाे बताए ।
दोस्रोमा दक्षिण कोरियाको इनचोन, तेस्रोमा भारतको राजधानी नयाँदिल्ली, कीर्गिस्तानको विस्केक, पाँचौमा भारतको कोलाकाता सहर, छैटौँमा क्रोसियाको जागरेब, सातौँमा बंगलादेशको ढाका र आठौँमा नेपालको काठमाडौं रहेको छ ।
नेपालका यी सहर रेडजोनमा
नेपालमा वातावरण विभागले पनि वायु प्रदूषणको गुणस्तर मापन गर्छ । विभागले काठमाडौंसहित मुलुकका विभिन्न सहरमा राखेको वायु गुणस्तर मापन केन्द्रको तथ्यांक अनुसार प्रदूषण बढ्दै गएको छ ।
शनिबार बिहानको तथ्यांक अनुसार काठमाडौंसहित पाँच सहरको वायु प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ । पिएम२.५ को मात्रा प्रतिघन्टा हेर्दा पोखरामा १८४, बिराटनगरमा १७६, काठमाडौंको रत्नपार्कमा १५१, कीर्तिपुरमा १५६, सिमरामा १५४ पुगेको छ ।
धनकुटा, धनगढी, महेन्द्रनगरमा पनि प्रदूषण बढिरहेको छ । ती सहरको वायु गुणस्तरको मात्रा राष्टिय मापदण्डभन्दा बढी रहे पनि रेड जोनमा परिसकेका छैनन् ।

मौसममा क्रमिक सुधार
अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले विगत तीनदिनदेखि बिग्रिएको नेपालको मौसममा आजदेखि क्रमिकरुपमा सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यद्यपि उक्त मौसमी प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राजधानी काठमाडौँसहित देशका अधिकांश स्थानमा लगातारको बदली हटेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले विगतका दिनभन्दा केही न्यानो महशुस गरिएको छ । आज काठमाडौँको अधिकतम तापक्रम तापक्रम १९ दशमलव ५ र न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्रि सेल्सियस रहेको छ । यही मङ्सिर २ गतेदेखि देशका अधिकांश स्थानमा बदली र उच्च हिमाली भेगमा हल्का हिमपात भएको थियो ।
महाशाखाका अनुसार अहिले देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भूभाग आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भाग आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
भोली आइतबार पनि देशका पहाडी भु–भागमा सामान्य बदली रही काँकी भू–भागहरुमा आंशिक बदली रहनेछ । बागमती, गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १४:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार