सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । स्वास्थ्य बीमा सेवालाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच सहकार्यका लागि समझदारी भएको छ । दुवै निकायबीच भएको सहमतिअनुसार राष्ट्रिय परिचयपत्रमा रहेको व्यक्तिगत विवरण र परिचय नम्बरलाई स्वास्थ्य बीमा प्रणालीसँग आबद्ध गरिनेछ । यसका लागि दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक नमराज घिमिरे तथा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा। कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्। सहमति अनुसार स्वास्थ्य बीमा बोर्डले ‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली’ प्रयोग गरी विद्युतीय सेवा सञ्चालन गर्नेछ। यसबाट नागरिकको पहिचान डिजिटल माध्यमबाट प्रमाणीकरण गर्ने व्यवस्था लागू हुने अपेक्षा गरिएको छ। राष्ट्रिय परिचय नम्बरलाई स्वास्थ्य बिमासँग एकीकृत गर्दा सेवा प्रणाली अझ छरितो र विश्वसनीय बन्ने विश्वास गरिएको छ। नयाँ व्यवस्थाले स्वास्थ्य बिमा दर्ता तथा नवीकरण प्रक्रियामा देखिने झन्झट घट्ने तथा सेवाग्राहीले अस्पताल र सेवा केन्द्रहरूमा छिटो सेवा पाउने जनाइएको छ। यस कदमले तथ्यांक व्यवस्थापनलाई एकीकृत गर्न सहयोग पुग्नुका साथै एउटै व्यक्तिको दोहोरो दर्ता हुने समस्या नियन्त्रण गर्न पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ। सरकारी सेवा प्रणालीलाई एकीकृत गर्ने प्रयासका रूपमा गरिएको यो सहकार्यले स्वास्थ्य बिमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्रलाई अनिवार्य बनाउने तयारी गरिरहेका बेला गरिएको यो समझदारीले ‘डिजिटल नेपाल’ अभियानलाई समेत बल पुग्ने अपेक्षा गरिएको छ।