रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ११ घाइते

बिहीबार, मंसिर २, २०७८
दाङ, २ मंसिर : रोल्पामा फेरि सवारी दुर्घटना भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो ।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ । बस शहिदमार्गअन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।
बसमा सवार १८/२० जना सवार रहेको अनुमान गरिएको छ । बस सडकदेखि १०० फिट तल खसेको छ ।
विस्तृत विवरण आउन बाँकी छ ।
 
ट्याक्टर दुर्घटनामा परी भूत मेला हेर्न जाँदै गरेका दुई जनाको मृत्यु

यता जनकपुरधाममा कार्तिक पूर्णिमामा धनुषा र सिरहा जोडने कमला नदीमा लाग्ने भूत मेला हेर्न जाँदै गरेका दुई जना तीर्थालुको ट्याक्टर दुर्घटना मृत्यु भएको छ । सोही दुर्घटनामा १८ जना घाइते भएका छन् ।

बिहीबार करिब ५ बजे धनुषाको विदेह नगरपालिका–७ बेलापट्टीमा पुलमा ओभरटेक गर्ने क्रममा अनटेस्ट नेपाली नम्बरको ट्याक्टर पल्टिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत विहार राज्यको सितामाढी जिल्ला बेला थाना एकरहियाका ५० वर्षीय रामदयाल यादव र सोही स्थानका ४५ वर्षीया अस्मिता देवी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीहरूको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते १८ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्याक्टर महोत्तरीको भए पनि त्यसमा सवार अधिकांश तीर्थालु भने  भारतीय रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्त कुमार रजौरले बताए । घटना भएलगत्तै चालक फरार भएको उनले बताए ।

घाइतेहरूको प्रदेशीक अस्पताल जनकपुर र रामजानकी हस्पिटलमा उपचार भइरहेको उनले बताए । घटना विषयमा थप अनुसन्धान भइरहेको र फरार चालकको खोजविन जारी रहेको उपरीक्षक रजौरले बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  २१:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार