दिल्ली सरकारद्धारा प्रदूषण नियन्त्रण गर्न घरबाट काम गर्ने, सप्ताहन्तमा लकडाउन गर्ने प्रस्ताव

मंगलबार, कात्तिक ३०, २०७८

नयाँ दिल्ली, ३० कात्तिक । भारतको दिल्ली सरकारले मङ्गलबार भारतको राजधानी सहरमा प्रदूषण  नियन्त्रणका लागि आपत्कालीन बैठकद्वारा एक हप्ताका लागि घरबाट काम गर्ने र सप्ताहन्तमा लकडाउन गर्ने प्रस्ताव गरेको छ ।
यसबाहेक दिल्ली सरकारले निर्माण र औद्योगिक गतिविधिमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ । सङ्घीय सरकार र दिल्ली, पञ्जाब, हरियाणा र उत्तर प्रदेशका प्रतिनिधिहरू, सम्बन्धित सरोकारवालाहरू बीचको बैठकलाई भारतको सर्वोच्च अदालतले दिल्लीको विषाक्त वायु सङ्कटसँग लड्न आदेश दिएको थियो जसका कारण विद्यालयहरू बन्द भएका छन् ।
“आजको पञ्जाब, हरियाणा, उत्तर प्रदेश, हरियाणाका अधिकारीहरूसँगको बैठकमा हामीले (दिल्ली सरकारले)  केन्द्रीय राजधानी क्षेत्र (एनसीआर) मा घरबाट काम गर्न लागू गर्नुपर्ने प्रस्ताव राख्यौँ,“ दिल्लीका वातावरणमन्त्री गोपाल राईले मिडियालाई भने । मन्त्री राईले “निर्माण कार्यमा प्रतिबन्ध लगाउनुपर्ने र एनसीआरमा उद्योगहरू पनि बन्द गर्नुपर्ने बताएका छन् । उनले  बताएका छन् कि दिल्ली सरकारले सप्ताहन्तमा लकडाउनको प्रस्ताव गरेको छ र तिनीहरू यसका लागि तयार छन् । ‘अब अदालतको निर्देशनमा भर पर्छ,’ उनले भने । दिल्ली सरकारले राजधानीको वायु प्रदूषण बढ्नुमा छिमेकी राज्यहरूमा पराल जलाएको आरोप लगाउँदै आएको छ । सोमबार सङ्घीय सरकारले पराल जलाउँदा वायु प्रदूषणको चार प्रतिशत वृद्धि भएको बताएको छ ।
नोभेम्बरको सुरुदेखि नै विषाक्त धुवाँसँग लडिरहेको दिल्लीले शनिबार आपत्कालीन उपायहरू अपनाउँदै विद्यालयहरू बन्द गर्न र निर्माण कार्य चार दिनका लागि बन्द गर्न आग्रह गरेको थियो । भारतको राजधानी दिल्ली विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा परेको छ । औद्योगिक गतिविधिहरू र अत्यधिक सवारी साधनको चाप सहरको वायु प्रदूषणको मुख्य कारक बनेको छ ।– रासस/सिन्ह्वा

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  २१:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार