चीनसँग सीमा संघर्षको कालो छाया इन्डियन औषधि उद्योगमा

बिहीबार, कात्तिक २७, २०७७

इन्डियाको चीनसँग सीमा जोडिएको लद्दाखको गलवान घाटीमा यही जुन १५ राति भएको चिनियाँ सेनासँग भएको संघर्षमा २० इन्डियन सैनिक मारिए । ७६ इन्डियन सैनिक घाइते भए । दुवै देशबीच सीमा अर्थात् एलएसी (लाइन अफ एक्चुअल कन्ट्रोल–वास्तविक नियन्त्रण रेखा) मा गएका कैयौं सातादेखि बढ्दै गएको तनावले अन्ततः हिंसामा परिणत भयो । दुवै देशका सैनिकबीच घन्टौं कुटाकुट र झडप नै भयो । चीनले भने झडपमा उसका कति सैनिक मारिए र घाइते भए कुनै जानकारी दिएको छैन । यतिबेला इन्डियामा यो झडप अत्यधिक चर्चाको विषय बन्नुको एउटा कारण ४५ वर्षपछि विदेशी सेनाबाट आफ्ना सैनिक मारिनु पनि हो ।

झडपले द्विपक्षीय व्यापारमा प्रश्न
इन्डिया–चीनको यो सीमा विवाद वा संघर्षले इन्डिया चिन्तित बनेको छ । यतिबेला उसको चिन्ताको प्रमुख कारण सामरिक मात्र नभएर चीनसँगको व्यापार पनि बनेको छ । त्यसमा पनि उसका लागि चीनमाथि औषधिको बढ्दो निर्भरता ठूलो टाउको दुखाइ बनेको छ ।
इन्डियाले मधुमेह, उच्च रक्तचाप, थाइराइड, आर्थराइटिसलगायत विभिन्न रोगका औषधिसहित प्यारासिटामोल, एन्टिबायोटिक्स, केमोथेरापीमा उपयोग हुने औषधि चीनबाट आयात गर्छ । झडपपछि इन्डिया चीनसँगको व्यापारिक सम्बन्धमाथि गम्भीरतापूर्वक घोत्लिएको छ ।  चीनबाट हुने उसको औषधि आयात अत्यधिक बढेको छ । चीनसँगको व्यापार कटौती गरे बिरामीको उपचारमा नै असर पर्नसक्ने सम्भावनाले उ चिन्तित छ । घटनाको विरोध हुनाका साथै इन्डियामा चीनबाट आयात हुने वस्तुको बहिष्कार र प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेको छ । सरकारले भने तत्काल यस्तो खालको कुनै पनि निर्णय गरेको छैन ।
इन्डियाको रेल र सञ्चार मन्त्रालयले भविष्यमा हुने केही आयातमा रोकिनसक्ने संकेत भने दिएका छन् । सिएआइटी (कन्फेडरेसन अफ अल इन्डिया ट्रेडर्स) ले भने एक कदम अघि बढेर बहिष्कार गरिने ५ सयभन्दा बढी चिनियाँ उत्पादनको सूची नै जारी गरेको छ । यसबीच कैयौं इन्डियन सहरमा चिनियाँ वस्तु बहिष्कारका पक्षमा प्रदर्शनसमेत भए ।

इन्डियामा चिनियाँ औषधि
दुई दशकयता चीनसँग इन्डियाको व्यापार ३० गुणा बढेको छ । सन् २००१ मा दुवैबीच जम्मा ३ अर्ब अमेरिकी डलर बराबरको व्यापार बढेर सन् २०१९ सम्म आइपुग्दा ९० अर्ब अमेरिकी डलर पुग्यो ।
यो बढेको व्यापारको सर्वाधिक हिस्सा औषधिको छ । गएको दशकमा इन्डियाको चीनसँगको औषधि आयातमा २८ प्रतिशत वृद्धि भएको छ । वाणिज्य मन्त्रालयका अनुसार सन् २०१९÷२० मा इन्डियालेसाढे ११ सय करोड भारतीय रुपैयाँ बराबरको फर्मास्युटिकल उत्पादन चीनबाट आयात गरेको छ । यो समयमा चीनबाट इन्डियाको कुल आयात करिब १५ हजार करोड भारतीय रुपैयाँ बराबर थियो ।
जहाँसम्म जेनेरिक औषधि उत्पादन र निर्यातमा इन्डिया निकै अगाडि छ । सन् २०१९ मा उसले विश्वका २ सय १ देशलाई जेनेरिक औषधि निर्यात गरी अर्बौं भित्र्याएको थियो । तर, यतिबेला भने उ यी औषधि उत्पादनका लागि चीनमा निर्भर छ । औषधि उत्पादन गर्न उ चीनबाट एपिआई (एक्टिभ फर्मास्युटिकल इन्ग्रेडिएन्ट्स) आयात गर्छ, जसलाई औषधिको कच्चा पदार्थ वा बल्क ड्रग्स भन्ने गरिन्छ । औषधि उद्योगका जानकारहरुका अनुसार इन्डियामा औषधि उत्पादनका लागि आयात हुने कुल कच्चा पदार्थमध्ये ७० प्रतिशत हिस्सा चीनबाट आउँछ ।
चीनको निर्यात रणनीतिमाथि ‘कम्पिटिटिभ स्टडिजः लेसन्स फ्रम चाइना’ पुस्तकका लेखक तथा गुजरात फर्मा एसोसिएसनका अध्यक्ष डाक्टर जयमन वासाका अनुसार चीनबाट कच्चा पदार्थ आयात नगरिकन औषधि उत्पादन गर्न समस्या पर्ने तथ्य इन्डियाले स्विकार्नु पर्छ । ‘इन्डियाले धेरैभन्दा धेरै फर्मा पार्क या जोन नबनाउन्जेलसम्म चीनको बराबरी गर्न कठिन छ,’ उनी भन्छन्, ‘किनभने उनीहरुको अनुसन्धान अत्यन्त सबल छ । त्यसको बराबरी गर्न हामीलाई धेरै वर्ष लाग्नेछ ।’
इन्डियामा औषधिको कच्चा पदार्थ उत्पादन अत्यन्त न्यून रहेको तथ्य यथार्थ हो । यसबाहेक इन्डियामै उत्पादित कच्चा पदार्थबाट औषधि उत्पादन गर्दा पनि केही सामग्री चीनबाट आयात हुने गरेको छ । अर्को शब्दमा भन्ने हो भने भारतीय औषधि उत्पादकहरु एपिआई वा कच्चा पदार्थका लागि समेत चीनमाथि निर्भर छन् ।
अन्तरराष्ट्रिय फर्मा एलायन्सका सल्लाहकार तथा जायडस क्याडिला ड्रग कम्पनीका पूर्व उत्पादन प्रमुख एसजी बेलापुरका अनुसार चीनबाट एपिआई आयात गर्ने प्रमुख कारण सस्तो मूल्य हो । उनले अन्य देशको भन्दा चीनसँग एपिआई आयात गर्दा ३०–३५ प्रतिशत सस्तो पर्ने बताए । एन्टिबायोटिक्स तथा क्यान्सरको उपचार गर्ने औषधिमा त इन्डिया अझ धेरै चीनमाथि निर्भर रहेको उनी बताउँछन् । 
मधुमेह, उच्च रक्तचाप, थाइराइड, आर्थराइटिस, भाइरल इन्फेक्सनको उपचारका औषधि उत्पादनका लागि एपिआई वा कैयौं प्रकारका सर्जिकल उपकरण र मेडिकल मेसिनलगायत इन्डियाले आयात गर्ने चिनियाँ फर्मा उत्पादनको निकै लामो सूची छ ।
विशेषज्ञहरुको भनाइ पत्याउने हो भने इन्डियामा पेन्सिलिन र एजिथ्रोमाइसिन जस्ता एन्टिबायोटिकको उत्पादनमा चाहिने ८० प्रतिशत एपिआई चीनबाट आयात हुन्छ ।

निर्भरता घटाउन माग
औषधि निर्माता चिनियाँहरुसँग नियमित सम्पर्कमा रहेका ड्रग रिसर्च म्यानुफ्याक्चरिङ विशेषज्ञ डाक्टर अनुराग भन्छन्, ‘चीनबाट कच्चा पदार्थ वा एपिआई आयातको मुख्य कारण औषधिको मूल्य प्रतिस्पर्धामा अगाडि रहनका लागि हो ।’
उनका अनुसार एपिआई उत्पादनमा बिजुलीको ठूलो योगदान रहन्छ । केही समयअघिसम्म पनि इन्डियाको तुलनामा चीनमा विद्युत् महसुल न्यून थियो, जसकारण त्यहाँ एपिआईको उत्पादन लागत निकै थोरै थियो । सँगसँगै चिनियाँ फर्मास्युटिकल उद्योग त्यहाँका विश्वविद्यालयमा निरन्तर हुने शोध र अनुसन्धानसँग आबद्ध हुन्छन्, जसलाई औषधि उत्पादनको मेरुदण्ड मानिन्छ । उनका अनुसार कुनै पनि नयाँ शोध वा अनुसन्धान हुनासाथ त्यसको व्यावसायिक उत्पादन गर्नमा चिनियाँहरु औधी निपुण छन् ।
इन्डियाले झेजियाङ, गुआङडोङ, संघाई, जियाङसू, हेबेई, निङसिया, हार्बिनलगायत चीनका केही प्रान्तबाट औषधिको कच्चा पदार्थ आयात गर्छ । डाक्टर अनुराग भन्छन्, ‘बेइजिङ, संघाई वा हङकङका बन्दरगाहबाट कच्चा पदार्थ इन्डिया ल्याइन्छ ।’ 
चिनियाँ कच्चा पदार्थको गुणवत्ताबारे जायडस क्याडिलाका पूर्व उत्पादन प्रमुख बेलापुरले भने, ‘पहिले यसमा कुनै समस्या थिएन तर हिजोआज भने विक्रेता को हो भनेर सावधान हुनैपर्छ र विशेष सोधीखोजी गर्नैपर्छ ।’ उनका अनुसार यसो नगरे गुणस्तरहीन कच्चा पदार्थ पर्न सक्छ । सीमा तनावका कारण इन्डियामा चिनियाँ आयात कम गर्न आवाज उठेको यो पहिलो पटक होइन । सन् २०१७ मा दुवै देशका सेनाबीच डोक्लाममा उत्पन्न तनावका बेला पनि चिनियाँ आयातमा प्रतिबन्ध लगाउनुपर्ने चर्चा चलेको थियो ।
इन्डियन फर्मा उद्योगमा यस्तो स्वर उठेका थिए र एपिआईमा आत्मनिर्भर हुनु आवश्यक भएको बताइएको थियो । यसका वावजुद पनि तथ्यांकले चीनबाट हुने आयातमा कमी नभएको संकेत गर्छन् ।
सन् २०१९ मा चिनियाँ प्रान्त वुहानमा भएको कोरोना भाइरसको संक्रमणपछिको लकडाउनले इन्डियाको औषधि उद्योगमा भूकम्प गएको थियो । किनभने वुहान लकडाउनले इन्डियन औषधि उद्योगलाई आवश्यक एपिआई अभाव भए जेनेरिक औषधि उत्पादन ठप्प हुने त्रासमा इन्डियन उत्पादकहरु थिए । ‘मेरो विचारमा कोभिड–१९ ले ल्याएको चुनौतीले यो समय कठिन भए पनि इन्डियन औषधि उद्योगलाई आत्मनिर्भर बन्ने स्वर्ण अवसर हो,’ गुजरात फर्मा एसोसिएसनका अध्यक्ष डाक्टर जयमन वासा प्रष्ट भन्छन्, ‘औषधिमा चिनियाँ निर्भरता कम गर्नु छ र यसका लागि सरकारी सहयोग चाहिन्छ ।’
औषधिको एपिआईमा आत्मनिर्भर हुन इन्डियालाई धेरै वर्ष लाग्छ भने आयातका लागि चीनबाहेक अन्य विकल्प के हुन् भन्ने प्रश्न पनि उत्तिकै अहम् छ ।
अन्तरराष्ट्रिय फर्मा एलायन्सका सल्लाहकार बेलापुर इन्डियाले औषधि र एपिआई आयातमा चीनमाथिको निर्भरता कम गर्न हो भने स्पेन, इटली, स्विट्जरल्यान्ड र दक्षिण अमेरिकाका केही देशबाट आयात गर्न सुझाउँछन् । तर ती देशबाट आयात गर्दा महँगो पर्ने भएकाले औषधिको मूल्य पनि बढ्ने उनी बताउँछन् । एपिआई अर्थात् औषधिको कच्चा पदार्थको विगत र भविष्यबारे ड्रग रिसर्च म्यानुफ्याक्चरिङ विशेषज्ञ डाक्टर अनुराग हितकारी भन्छन्, ‘इन्डियामा प्रदूषणसम्बन्धी अनुमति लिन केन्द्र र राज्य सरकारसहित वातावरण मन्त्रालयलगायत अनेकौं निकाय धाउनुपर्ने झन्झटिलो व्यवस्था थियो ।’ उनी यही अत्यन्त झन्झटिलो कानुनी प्रावधानकै कारण साना तथा लघु उद्योगहरु एपिआई उत्पादन गर्न अनिच्छुक भएको बताउँछन् । तर अहिले अनुमति प्रक्रिया संशोधन भएकाले अब इन्डियामा एपिआई उत्पादन बढ्ने अपेक्षा व्यक्त गर्छन् उनी । एजेन्सी

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १९:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार