सोसल मिडिया
Contact Us
युनिकोड
टोकियो । जापानले कोभिड–१९ विरूद्धको अभियान अझै सफल भई नसकेको भन्दै आगामी मार्च ७ गतेसम्मका लागि देशव्यापी जारी स्वास्थ्य सङ्कटकाललाई बढाएको छ । जापानी प्रधानमन्त्री योशीहिदा सुगाले मङ्गलबार कोविड–१९ महामारीको कारण लगाइँदै आएको सङ्कटकाललाई थप एक महिनाका लागि विस्तार गरेका हुन् । सरकारको कोभिड–१९ कार्यदलको बैठकपछि प्रधानमन्त्रीको यो घोषणा आएको हो । जापानका ११ वटा प्रान्तमध्ये हाल टोकियो र छिमेकी कानागावा, चिबा र सैतामा क्षेत्रका साथै ऐची, गिफु, ओसाका, क्योटो, ह्योगो र फुकुओका क्षेत्रहरूमा रहेको कोभिड–१९ सङ्कटकाललाई थप बढाउने सरकारले घोषणा गरेको हो । यसैबीच राजधानीको उत्तरमा अवस्थित तोचिगी प्रान्तमा कोभिडको समस्या कम भएको भन्दै यसलाई आपत्कालीन सूचीबाट हटाइने पनि प्रधानमन्त्रीले बताउनुभएको छ भने दक्षिण टापु ओकिनावा प्रान्तमा सङ्कटकाल थप गर्ने वा नगर्ने भन्ने निर्णय भइसकेको छैन । जापानी सरकारले सबैभन्दा पहिले ग्रेटर टोकियो क्षेत्र र ओसाकालगायत सघन आवादी भएका अन्य प्रमुख शहरी क्षेत्रहरूका लागि जनवरीमा घोषणा गरेको सङ्कटकाल यही फेब्रुअरी ७ सम्मका लागि रहेको थियो । आपत्कालीन अवस्थाको घोषणा भएदेखि नै मानिसहरूलाई घरबाहिर अनावश्यक यात्रा गर्नबाट जोगिन र घरबाट काम गर्न आग्रह गरिएको छ । जापानभर मङ्गलबारसम्म तीन लाख ८९ हजार ५१८ व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजार ७२२ जनाको मृत्यु भएको छ । जापानको सबैभन्दा बढी प्रभावित राजधानी शहर टोकियोमा सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या एक लाखभन्दा बढी पुगेको छ ।– सिन्ह्वा