भारत ईयूलाई खोप आपूर्ति गर्न इच्छुक 

दिल्लीमा विद्यालयहरूलाई छिट्टै पूर्ण क्षमतामा खुल्ने 
मंगलबार, माघ २०, २०७७

नयाँदिल्ली । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी भारतको सीरम इन्स्टिच्यूटले युरोपेली संघलाई खोप आपूर्ति गर्न सक्षम रहेको बताएको छ । सीरम इन्स्टिच्यूटले अक्सफर्ड–एस्ट्राजेनेकाद्वारा विकसित खोप उत्पादन गरिरहेको छ । इन्स्टिच्यूटका प्रमुख अदार पुनावालाले भने, ‘कोभिड–१९ विरूद्धको खोप आपूर्ति गर्न ईयूका विद्यमान नियमहरूमा परिवर्तन गरिएमा भारतले संघलाई खोप उपलब्ध गराउन सक्छ ।’ युरोपमा चाँडै खोप आपूर्ति गर्नका लागि विद्यमान नियमहरूले अवरोध गरेको पनि उनले बताए । सीरम इन्स्टिच्यूटका अनुसार कम्पनीबाट कोरोनाभाइरस खोपलाई दैनिक २५ लाख मात्राको दरले उत्पादन भइरहेको छ । खोपको अधिकांश हिस्सा भारतमा प्रयोग गरिएको छ भने केही प्रतिशत उत्पादनलाई छिमेकी तथा आफ्ना सहयोगी राष्ट्रहरूलाई उपलब्ध गराइरहेको छ । भारतले कोभ्याक्स कार्यक्रममार्फत गरीब देशहरूलाई ठूलो मात्रामा खोप उपलब्ध गराउने कार्यक्रम पनि अघि सारेको छ ।  

दिल्लीमा विद्यालयहरूलाई छिट्टै पूर्ण क्षमतामा खुल्ने 

भारतको राजधानी नयाँ दिल्ली र वरपरका विद्यालयहरू पूर्ण क्षमतामा पुनः खोल्न सक्षम हुने आशा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् । निजी विद्यालयका प्रिन्सिपलहरू र व्यवस्थापन अधिकारीसँग मङ्गलबार गरेको छलफलमा उनले कोभिड–१९ विरूद्धको खोपहरू लगाउन थालिसकिएको र यसले विद्यालयलाई पूर्ण क्षमतामा खोल्न सहयोग गर्ने विश्वास व्यक्त गरेका हुन् । केजरीवालले भने, ‘बच्चाहरू विद्यालय र कलेजमा फर्कन चाहन्छन् तर अभिभावक र शिक्षक चिन्तित छन् । महामारीविरूद्धको खोप आएको छ, हामी आशा गर्दछौँ कि हामी छिट्टै विद्यालयलाई पूर्ण क्षमतामा खोल्न सक्षम हुनेछौँ ।’ 
यसवर्ष नर्सरी भर्नाको बारेमा कुरा गर्दै उनले भने, ‘हामी छिट्टै नर्सरीमा भर्ना प्रक्रिया शुरु गर्नेछौँ र क्रमशः अन्य कक्षाहरू पनि पूर्ण तथा सहज सञ्चालनमा आउनेछन् ।’
कोभिड–१९ को महामारीको कारण मार्च २०२० देखि दिल्लीमा विद्यालयहरू बन्द भएका थिए भने लामो समयको पर्खाइपछि विद्यालयहरूले अनलाइन कक्षाहरू त सञ्चालनमा ल्याएका छन् तर यसले सम्पूर्ण विद्यार्थीलाई समेट्न नसकेको अभिभावक तथा विद्यालय सञ्चालकहरूको गुनासो रहेको छ । 
दिल्ली सरकारले आगामी बोर्ड परीक्षालाई ध्यानमा राख्दै जनवरी १८ देखि कक्षा १० र १२ का लागि विद्यालयहरू पुनः खोल्ने निर्णय गरेको छ यद्यपि बाँकी कक्षाका लागि, दिल्लीका विद्यालयहरू भर्चुअल मोडको माध्यमबाट पाठ्यक्रमलाई अघि बढाइरहेका छन् । ‘हाम्रो सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छ । शिक्षा हामी सबैका लागि महत्वपूर्ण छ । सन् २०२० मार्चमा हाम्रो सरकारले शिक्षा क्षेत्रमा सबैभन्दा बढी रकम विनियोजन गरेको थियो’, केजरीवालले भने । कार्यक्रमपछि विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक र अन्य संकाय सदस्यहरूले अरविन्द केजरीवाललाई राष्ट्रिय राजधानीमा शिक्षा क्षेत्र सुधार गर्न गरेको प्रयासको लागि धन्यवाद दिएका राज्य सरकारले बताएको छ । दिल्लीका मुख्यमन्त्री कार्यालयले ट्वीटरमा भनेको छ, ‘प्रिन्सिपल र शिक्षकहरूले शहरमा शिक्षाको अवस्था सुधार गर्न निरन्तर प्रयास गरिरहेकोमा दिल्ली सरकारलाई धन्यवाद दिएका छन् ।’– 

दैनिक सङ्क्रमितको सङ्ख्या छ महिनापछिकै न्यून 

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाको सङ्ख्या अन्त्यन्त न्यून भएको छ । सरकारी अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा छ महिना यताकै सबैभन्दा कम सङ्क्रमित भएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ सङ्क्रमितको सङ्ख्या सन्तोषजनक तरिकाले न्यून हुँदै गएको जनाएको छ । यसअघि गत वर्षको सेप्टेम्बर १० मा एकैदिन सबैभन्दा धेरै ९५ हजार ७३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका थिए । भारतमा अहिलेसम्म एक करोड सात लाख ६७ हजार २०६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने एक लाख ५४ हजार ५२२ जनाको मृत्यु भएको छ । 
त्यसैगरी एक लाख ६४ हजार २७८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको सरकारी अधिकारीले जनाएका छन् । विश्वभरी धेरै सङ्क्रमित भएका देशको सूचीमा भारत दोस्रो क्रममा रहेको छ । भारतमा भन्दा धेरै अमेरिकामा सङ्क्रमित रहेका छन् । अमेरिकामा अहिलेसम्म दुई करोड ६९ लाख ११ हजार ३७५ जना सङ्क्रमित भएका छन् । त्यस बाहेक तेस्रो धेरै ब्राजिलमा, चौथो धेरै रुसमा र पाचौँ धेरै बेलायतमा सङ्क्रमित रहेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  सङ्गठनका अनुसार अमेरिकामा चार लाख ५४ हजार, ब्राजिलमा दुई लाख २५ हजार, मेक्सिकोमा एक लाख ५९ हजार, भारतमा एक लाख ५४ हजार, बेलायतमा एक लाख छ हजारको कोरोना सङ्क्रमणबाट मानिसको मृत्यु भइसकेको छ । पछिल्लो विवरणअनुसार विश्वभर १० करोड ३९ लाखभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित भएका र त्यसमध्ये २२ लाख ४८ हजार व्यक्तिको ज्यान गइसकेको छ ।– एएनआई
 

प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  २२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार