सोसल मिडिया
Contact Us
युनिकोड
बुटवल, २७ कात्तिक : महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी धेरै भएपछि रुपन्देहीमा सर्वसम्मतको प्रयास असफल हुँदै गएको छ । पाँचवटा संघीय निर्वाचन क्षेत्र रहेको रुपन्देहीबाट ३३ जना प्रतिनिधि छानिँदै छन् । यसका लागि एक सय भन्दा बढीले मनोनयन दर्ता गराएका छन् ।
धेरैजनाले छोड्नै नचाहेकाले निर्वाचनको सम्भावना बढेको एमाले जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए । ६ जना प्रतिनिधि छानिने रुपन्देही–१ मा ३१ जनाले मनोनयन दर्ता गराएका छन् । खुला चार जनाका लागि २४ र महिला दुई जनाका लागि सात जनाले मनोनयन दर्ता गराएको चापागाईंले बताए ।
त्यस्तै सात हजार संगठित सदस्य रहेको रुपन्देही क्षेत्र नम्बर २ बाट खुलातर्फ आठ र महिला तीन गरी ११ जना प्रतिनिधि चयन हुनेछन् । यसका लागि ५२ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीका उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र रहेकाले पनि यो क्षेत्रमा आकांक्षी धेरै देखिएका हुन् ।
त्यस्तै क्षेत्र नम्बर ३ मा ३१ जनाले मनोनयन दर्ता गराएका छन् । यहाँबाट खुला चार र महिला दुई गरी ६ जना प्रतिनिधि चयन हुँदैछन् । सबैभन्दा कम अर्थात् तीन जना मात्रै प्रतिनिधि चयन हुने क्षेत्र नम्बर ४ मा भने सर्वसम्मत हुने देखिएको छ ।
त्यस्तै क्षेत्र नम्बर ५ मा १२ जनाले मनोनयन दर्ता गराएका छन् । यो क्षेत्रबाट खुला चार र महिला एक गरी पाँचजना प्रतिनिधि चयन हुँदैछन् ।
जाजरकोटमा सर्वसम्मत प्रतिनिधि छनोट
यता जाजरकोटमा नेकपा (एमाले) जाजरकोटले १०औं राष्ट्रिय महाअधिवेशनका लागि सर्वसम्मत प्रनिनिधि छनोट गरेको छ ।
आज छनोट भएका प्रतिनिधिमा करवीर शाही, लालबहादुर महतारा, डम्बर सिंह, कौशिलावती खत्री, सीपी घर्ती, वेदबहादुर शाही, प्रेमप्रसाद घर्ती, नवेन्द्र नेपाली र हरिकला जैसी रहेका छन् ।
दुई दिनसम्म भएको छलफलबाट आज सर्वसम्मत प्रतिनिधि छनोट भएको निर्वाचन मण्डलका संयोजक हेरम्वबहादुर शाहले बताए । करवीर शाही कर्णाली प्रदेशसभा सदस्य (जाजरकोट ख), महतारा छेडागाड नगरपालिकाका नगर प्रमुख, कौशिलावती खत्री प्रदेशसभा समानुपातिक सदस्य, सीपी घर्ती भेरी नगरपालिका मेयर हुन् ।
मुगुमा एमालेको सर्वसम्मत नेतृत्व चयन
नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेले मुगुमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । नेकपा एमाले मुगुले वडा तह र स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
जिल्लाको छायानाथ रारा नगरपालिकामा परेकराज चौलागाईं, खत्याड गाउँपालिकामा डिलबहादुर थापा, सोरु गाउँपालिकामा दानबहादुर बुढा र मुगुम कार्मारोङ गाउँपालिकामा रतनबहादुर बुढाको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा जिल्ला पार्टी प्रवक्ता डवलबहादुर रोकायाले जानकारी दिए ।
'जिल्लामा सञ्चालन भएका वडा तह र स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन गरेका हौं', रोकायाले भने । जिल्लाको ४५ वडामा ३१ सदस्सीय कमिटी रहेको छ भने चार वटा स्थानीय तहमा अध्यक्षसहित ७५ सदस्सीय कमिटी रहेको रोकायाले जानकारी दिए ।
मुगुम कार्मारोङ गाउँपालिका-८ को अध्यक्षमा २० वर्षीय छिरिङ ग्याम्जो लामा चयन भएका छन् । छायानाथ रारा नगरपालिका-२ को अध्यक्षमा रूपबहादुर तिरुवा र वडा नम्बर ११ मा दलबहादुर कुमाल वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
नगरपालिकाको वडा नम्बर ४ को वडा अध्यक्षमा रजनी भाम चयन भएको एमाले मुगुले जानकारी दिएको छ । राष्ट्रिय महाधिवेशनको लागि मुगु जिल्लाबाट ८ जना प्रतिनिधि छनोट प्रक्रिया रहेका छन् ।
गोरखामा १५ प्रतिनिधिमा ३५ जनाको उम्मेदवारी, सबै सर्वसम्मत
यता गोरखामा १५ जना महाधिवेशन प्रतिनिधि छनोटका लागि ३५ जनाको उम्मेद्वारी परेको गोरखामा भने सर्वसम्मत रुपमा चयन भएका छन् । दुई निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर १ बाट दुई महिलासहित ६ जना, निर्वाचन क्षेत्र नम्बर २ बाट दुई महिलासहित ८ जना र उत्पीडित वर्गबाट १ जना गरी जम्मा १५ जना प्रतिनिधि छनोट भएका हुन् ।
महाधिवेशन प्रतिनिधिका लागि गोरखाको दुई निर्वाचन क्षेत्र र उत्पीडित वर्गबाट गरी जम्मा ३५ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।
छनोट हुने प्रतिनिधिको संङ्ख्या भन्दा उम्मेद्वारी दिनेको संख्या दोब्बर भन्दा बढी भए पनि पार्टीका जिल्लास्तरीय शीर्ष नेताले सम्पूर्ण उम्मेद्वारसँग छलफल गरेर सर्वसम्मत प्रतिनिधि छनोट गरेका हुन् ।
क्षेत्र नं १ बाट महिलामा सम्झना देवकोटा, मिना बरामसहित खुल्ला तर्फ सुरेन्द्र बहादुर थापा, गोपाल पाण्डे, कृष्ण नेपाली, सुरेश श्रेष्ठ, मोहन भट्टराई र विशाल थापा सर्वसम्मत चयन भएका छन् ।
यस्तै, क्षेत्र नं २ मा महिलाहरु पार्वती पाठक, रुपा पन्तसहित प्रेम गुरुङ, बाबुराम थापा, हरि काफ्ले, कमल दानी प्रतिनिधि चयन भएका छन् ।
पार्टीको केन्द्रीय नीतिअनुसार उत्पीडित दलित प्रतिनिधिमा काजीराम रोका चयन भएका छन् ।
गोरखा जिल्लाभर हाल एमालेको ७ हजार ६९० जना पार्टी सदस्य रहेको छ ।