तिहारमा बरामद गरिएको सात लाख बराबरको पटाका नष्ट

मंगलबार, कात्तिक २३, २०७८

बुटवल, २३ कात्तिक : तिहारका बेला प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट बरामद गरेको सात लाख रुपैयाँ बराबरको पटाका मंगलबार नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको ६ लाख ८१ हजार ५ सय ७५ रुपैयाँ बराबरको पटाका नष्ट गरेको हो । कात्तिक १७ र १८ गते विभिन्न स्थानमा फेला पारिएका अवैध पटाका बरामद गरी मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । प्रहरीले स्थानीयवासी तथा पत्रकारको रोहबरमा पटका नष्ट गरेको हो ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार बुटवल उपमहानगरपालिका–४ अमरपथ, वडा नम्बर ८ सुख्खानगर, लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदह, सिद्धार्थनगर–२ झण्डीबजार, वडा नम्बर १२ कालिकापथ, वडा नम्बर ३ खजहना, सम्मरीमाई गाउँपालिका–३ गुलरिया र मर्चवारी गाउँपालिका–२ अमुवा बजारबाट अवैध पटाका बरामद गरिएको थियो ।

त्यस्तै मर्चवारी गाउँपालिका–७ स्थित पैसियाघाटबाट युपी ५३ सीएच ८४४५ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरिएको १ लाख २० हजार मूल्य बराबरको २५० पिस झिलिमिली बत्ती बरामद गरी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

त्यस्तै रुपन्देही प्रहरीले हराएको मोबाइल सेट फेला पारी मंगलबार सम्बन्धित मोबाइल धनीलाई बुझाएको छ । हराएको मोबाइलहरूको आइएमईआई नम्बरको आधारमा अनुसन्धान गरी विभिन्न व्यक्तिहरूले सिमकार्ड राखेर प्रयोग गरिरहेको अवस्थामा १७ थान फेला पारिएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

कार्यालयमा सम्बन्धित मोबाइलधनीले दिएको निवेदनको आधारमा खोजतलास गर्दा हराएको मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरीले जनाएको छ ।

ठूलो मात्रामा अवैध चिरान बरामद

डिभिजन वन कार्यालय सिराहा लहानले ठूलो मात्रामा सालको अवैध चिरान काठ बरामद गरेको छ । 

विशेष सूचनाको आधारमा मिर्चैया नगरपालिका-९ पुलिसपट्टामा जम्मा गरी राखेको करिब तीन लाख मूल्य बरावरको ५१ थान सालको चिरान बरामद गरिएको हो ।

चुरे क्षेत्रको बाटोहुँदै अवैधरूपमा तस्करहरूले काठ ल्याउँदै गरेको विशेष सूचनाको आधारमा त्यहाँ पुगेका सशस्त्र वन रक्षकको टोलिले काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानका डिभिजन वन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिए ।

बरामद काठ जंगलक्षेत्रमा यत्रतत्र छरिएको अवस्थामा फेला परेको दासले जानकारी दिए । बिक्रीको लागि ठिक्क पारिएर राखेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुग्दा कतै दुई वटा कतै चार वटा छरिएर राखेको अवस्थामा काठ फेला परेको वन अधिकृत दासले जानकारी दिए ।

दासले उदयपुरबाट चोरी पैठारी गरी सिराहातर्फ सखुवाको चिरान आउने गरेको बताए । काठको नापजोख गर्न बाँकी रहेको उनले बताए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत दासले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार