हङकङका आफ्ना पूर्वनागरिकलाई भिसा दिने बेलायती घोषणा

३ लाखले यो सुविधा लिन सक्ने अनुमान 
आइतबार, माघ १८, २०७७

हङकङ । बेलायत सरकारले हङकङ निवासी लाखौं पूर्व बेलायती नागरिकलाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ । हङकङ छाड्न चाहने व्यक्तिका लागि बेलायतले पछिल्लो अवसर दिएसँगै बेलायती उपनिवेशमा रहँदा बेलायती नागरिक (विदेश) को मान्यता पाएका हङकङका ठूलो संख्याका नागरिकले आवेदन दिन थालेका छन् । आइतबार अपराह्नदेखि बेलायती नागरिक (विदेश) पासपोर्ट भएका व्यक्ति र उनीहरूका आश्रित व्यक्तिले भिसाका लागि अनलाइन आवेदन गर्न सक्ने छन् । यस्ता व्यक्तिले ‘द्रुत गति–फास्ट ट्रयाक’ मा बेलायतको स्थायी नागरिकताका लागि आवेदन दिनसक्ने बेलायत सरकारले घोषणा गरेको छ । यो भिसा प्राप्त गर्ने पूर्वबेलायतीले पाँच वर्षभित्र नागरिकताका लागि आवेदन दिन सक्नेछन् । निवेदन दिएको एक वर्षभित्र नागरिकता प्राप्ति हुन सक्ने बेलायत सरकारले स्पष्ट पारेको छ । चिनियाँ विदेश मन्त्रालयले बेलायती नागरिकता लिएका हङकङका पूर्वबेलायतीलाई ट्राभल डकुमेन्टका रूपमा मान्यता नदिने बताएको छ ।  चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि धेरै व्यक्तिले हङकङ छाड्न चाहेपछि बेलायतले पूर्वबेलायती नागरिकलाई यस्तो अवसर दिएको हो । बेलायतको पछिल्लो कदमपछि चीन अझ आक्रोशित भएको छ । बेइजिङले आफ्नो आन्तरिक मामिलामा बेलायतलाई दखल नदिन यस अघिदेखि चेतावनी दिँदै आएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चायो लिच्यानले बेलायतले ल्याएको रणनीति आफ्नो मुलुकको सार्वभौमसत्ता माथिको आक्रमण भएको दाबी गर्दै चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएको बताएका छन् ।  बेलायतले सन् १९९७ मा चीनलाई हङकङ हस्तान्तरण गर्दा ५० वर्ष हङकङको स्वायत्तता कायम राख्ने चीनले प्रतिबद्धता जनाएको थियो । तर बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले हङकङमा सन् १९९७ अघि रहेका नागरिकप्रति बेलायतको विशेष जिम्मेवारी र दायित्व रहने बताउँदै उनीहरूको स्वतन्त्रता र स्वायत्तताका पक्षमा बेलायत सदैव उभिइरहने प्रबितद्धता व्यक्त गरेका छन् । 
चीनले भने बेलायतले हङकङका नागरिकलाई भिसा प्रदान गर्ने घोषणा गरेकाप्रति आपत्ति जनाएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो सरकारको पूर्व बेलायतीलाई भिसा दिने निर्णयले बेलायतको ‘इतिहास तथा मित्रवत् व्यवहार’ को सम्मान हुने बताएका छन् । करिब ७ हजार हङकङवासीलाई बेलायतले वासस्थानका लागि स्वीकृति प्रदान गरिसकेको गृह मन्त्रालयले जानकारी दिएको छ । एक तथ्यांकअनुसार २.९ मिलियन नागरिक बेलायत प्रवेश गर्न योग्य हुनेछन् । चीनले बेलायतको नागरिकता लिएका पूर्वबेलायती मूलका नागरिकका राहदानीलाई आइतबारदेखि मान्यता नदिने घोषणा गरेको थियो । यो घोषणको भित्री आशय के हो भन्ने बारेमा पनि अझै स्पष्ट भइसकेको छैन । हङकङका नागरिकले पनि त्यहीँको परिचय पत्र तथा हङकङकै राहदानी बोकेर आवत जावत गर्नेगर्छन् । बेलायती नागरिक (विदेश) वर्र्गीकरणमा रहेर पासपोर्ट वाहक हङकङका नागरिकले यसका आधारमा यात्रा अनुमति नदिने चीनले जनाएको छ चीनले बेलायतको पछिल्लो घोषणा औपनिवेशिक मानसिकताबाट ग्रस्त रहेको स्पष्ट गरेको छ । –एजेन्सी 
 

प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार