सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाई समितिको बिहीबारको बैठकले अमेरिकाका लागि प्रस्तावित राजदूत डा.युवाराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माको नाम सुनुवाई पछि अनुमोदन गरेको हो । असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले खतिवडा, रेग्मी र विकलाई राजदूतमा सिफारिस गरेको थियो । सरकारले राजदूत सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाईका लागि समितिलाई पत्र पठाएको थियो । संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारद्वारा प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाई पछि अनुमोदन भएको जानकारी दिए । समितिको बैठकले राजदूतमा सिफारिस खतिवडा, रेग्मी र विकलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले आफ्नो योग्यता, क्षमता र कार्ययोजनाबारे समितिलाई जानकारी दिएका थिए । प्रस्तावित राजदूतहरूले आफूविरुद्ध समितिमा परेका उजुरीका आधारमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । राजदूतमा प्रस्तावित खतिवडा र रेग्मीविरुद्ध उजुरी परेका थिए । उनीहरूविरुद्ध विगतमा विभिन्न सार्वजनिक पदमा रहेका बेला अनियमितता गरेको र पदीय आचरणविपरीत काम गरेको आरोपसहितका उजुरी परेका थिए । तर, उजुरीकर्ताहरू भने संसदीय समितिले बोलाउँदा आएनन् । खतिवडा पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार हुन् भने रेग्मीले मुख्यसचिवबाट राजीनामा दिएपछि राजदूतमा सिफारिस भएका हुन् । संसदीय सुनुवाई समितिबाट अनुमोदित भएका प्रस्तावित राजदूतहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ । संसदीय सुनुवाईको बैठकले न्यायपरिषद्मा सिफारिस भएका रामप्रसाद श्रेष्ठविरूद उजुरी आह्वान गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ । दसदिने सूचना गर्ने र त्यसपछि सुनुवाइ गर्ने निर्णय भएको हो ।