भारतीय सवारी साधनको तथ्याङ्क सङ्कलन गरिने

आइतबार, कात्तिक २१, २०७८

सर्लाही, २१ कात्तिक । प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । 
सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न  प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्याङ्क सङ्कलन गर्न लागेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । 
उनका अनुसार छठ पर्व सकिएलगत्तै सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारीसाधनको विवरण सङ्कलन गरी त्यस्ता सवारीसाधन कहाँ र कसले सञ्चालन गरिरहेको छ सो को विवरण सङ्कलन गर्ने काम हुनेछ ।
यसैगरी उक्त कार्यालयले जिल्लालाई घुमुवा प्रहरीरहित जिल्ला पनि बनाएको छ । घुमुवा प्रहरीले जिम्मेवारीअनुसारको काम नगरेर सङ्गठनकै बदनाम गर्न थालेकाले आपराधिक गतिविधि र अन्य घटनाको सूचना सङ्कलनका लागि परिचालित  यस्ता घुमुवा प्रहरी हटाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।
उनका अनुसार अनौपचारिक पोशाकमा कार्यरत   प्रहरीले आचारण विपरीत काम गर्दै सङ्गठनकै बदनाम गराउन थालेकाले हटाइएको हो । 
“जिल्लाबाट मातहतका युनिटमा खटाइएका चार यस्ता प्रहरीले सूचना दिनेभन्दा बढी बदनाम गर्ने काम गरे, म आएपछि उनीहरुलाई हटाइसकेको छु” उनले भने, “अब कुनै घटना भए घटनाको प्रकृतिअनुसार जिल्ला र मातहतका युनिटबाटै विशेष प्रहरी टोली परिचालन हुनेछ ।” 
स्थानीयवासी, तालुक कार्यालय, सञ्चारकर्मीलगायतबाटै सूचना लिएर शान्ति सुरक्षा कायम गर्दै आपराधिक गतिविधि नियन्त्रणका लागि काम गर्ने योजना बनाइएको उपरीक्षक प्रसार्इंले बताए । 
उनकाअनुसार यसअघि अनौपचारिकरूपमा खटाइएका प्रहरीलाई पोशाक लगाएरै नियमित डिउटीमा लगाइसकिएको छ ।
प्रहरी उपरीक्षक प्रसार्इं जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर भए लगत्तैदेखि जिल्लामा रहेका घुमुवा प्रहरी हटाउने तयारीमा रहनुभएको थियो । उहाँले प्रहरी सङ्गठनभित्रका कमी कमजोरीलाई सुधार गर्दै आम नागरिकले न्याय र शान्ति सुरक्षाको महसुस गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसअघि प्रहरी नायब उपरीक्षक हुँदा पनि सर्लाहीमा एक कार्यकाल बसिसक्नु भएका प्रहरी उपरीक्षक प्रसाईंबाट सर्लाहीवासीले शान्ति, सुरक्षा र अमनचयनको अपेक्षा गरेका छन् । सिमानाकाका पोष्ट कमाउनका लागि मात्र होइन सेवा पनि  गर्नुपर्छ भन्ने मनसाय बनाउन पनि उनले आफ्नो माताहतका प्रहरी कर्माचारीलाई आग्रह गरेका छन् ।–रासस  
 

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार