सोसल मिडिया
Contact Us
युनिकोड
रियो दि जेनेरियो । कोभिड–१९ सङ्क्रमणबाट एक वर्षमा ब्राजिलमा दुई लाख २२ हजार ६६६ व्यक्तिको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो महामारीका कारण विगत २४ घण्टामा एक हजार ११९ व्यक्तिको मृत्यु भएको छ । यसैगरी विगत २४ घण्टामा कोभिडबाट ५९ हजार ८२६ व्यक्तिमा कोभिड सङ्क्रमण देखा परेको छ । अहिलेसम्म ब्राजिलमा ९१ लाख १८ हजारभन्दा बढी मानिसमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । बढी जनसङ्ख्या रहेको ब्राजिलको साओ पाउलो राज्य सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ १७ लाख ५९ हजार व्यक्तिमा सङ्क्रमित भएकोमा ५२ हजार ७२२ व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी अर्को बढी प्रभावित राज्य रियो दि जेनेरियोमा पाँच लाख १६ हजारभन्दा बढी सङ्क्रमित भएकोमा २९ हजार ५६३ व्यक्तिको मृत्यु भएको छ । अमेरिकापछि विश्वकै बढी कोभिड सङ्क्रमित रहेको मुलुक भारत हो यद्यपि मृत्युका हिसाबले ब्राजिल दोस्रो बढी प्रभावित मुलुक मानिन्छ । ब्राजिलको उत्तरी राज्य अम्याजोन्समा नयाँ प्रकारको भाइरस फेला परेको छ । यो पहिलेकोभन्दा सङ्क्रमणका हिसाबले कैयौं गुणा खतरा हुने विशेषज्ञहरूले बताएका छन् । ब्राजिलमा सङ्क्रमण दर उच्च रहेपछि बेलायत, पोर्चुगल, इटाली, कोलम्बिया, टर्की, पेरू र इजरायललगायतका मुलुकले ब्राजिलका लागि अन्तर्राष्ट्रिय उडानलाई अनिश्चितकालका लागि रोकेका छन् ।–सिन्ह्वा