फूलखेतीबाट मनग्य आम्दानी

शुक्रबार, कात्तिक १९, २०७८

दमौली । तनहुँका कृषकले फूलखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । सयपत्रीको फूल विक्रीबाट आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् ।  भिमाद नगरपालिका–८ धारापानीका गोविन्द अधिकारीले वर्षौदेखि बाँझो रहेको जग्गामा सयपत्री फूलखेती सुरु गरेका छन् । 
मुस्किलले एक मुरी कोदो नफल्ने बारीमा गत वर्ष रु ६० हजारको फूल फूलेपछि उनी उत्साहित भएका थिए । यो वर्ष उनले साढे चार रोपनी बारीमा व्यावसायिक रूपमा सयपत्री फूल लगाएका छन् । 
चितवनबाट कलकत्ते सयपत्रीको दश हजार बिरुवा ल्याएर उनले बाँझो बारीमा सयपत्री रोपेका छन् । भदौ दोस्रो साता लगाएको सयपत्रीको फूल यतिबेला ढकमक्क छ । कोदो समेत फूल्न छाडेको बारीको गह्रामा ढकमक्क फूल फुल्दा मनमोहक देखिएको छ । 
एउटै बोटमा ८० वटासम्म सयपत्रीको थङ्गा फुलेको छ । तिहारमा मात्रै सयपत्री बेचेर रु दुई लाख बढी आम्दानी हुने उनले बताए । 
सयपत्री फूलको बजार राम्रो रहेकाले यसबाट सन्तुष्ट रहेको उनले सुनाए । “फूल देखेपछि हामी लैजान्छौ भनेर व्यापारीको फोन आउँछ,” उनले भने, “वर्षेनी तिहारका लागि भारतबाट करोडौँको फूल नेपाल आउँछ भनेपछि बजार पाउन दुःख छैन ।”
माग धेरै आएपछि आफूले लगाएको फूलले मात्र नपुग्ने भएकाले चितवनबाट ल्याएर विक्री गर्ने गरेको उनले बताए । गत वर्ष पनि लगाएको सयपत्री फूल सबै घरबाटै विक्री भएको उनले सुनाए । 
एसएलसी सकाएपछि उनी वैदेशिक रोजगारीका लागि साउदी पुगेका थिए । दश वर्ष विदेशमा बसेपछि नेपाल फर्किएर केही गर्ने सोचका साथ उनले यातायात सेवा सुरु गरे । त्यसबाट खासै आम्दानी हुन नसकेपछि उनले फेन्सी पसल सञ्चालन गरे । केही समयको फेन्सी व्यवसायपछि उनले किराना पसल चलाए ।  हाल किराना सँगसँगै फूलखेती निरन्तर छ । सयपत्रीमा सम्भावना देखेका उनले अब फूल खेतीलाई निरन्तरता दिने पक्षमा छन् । यसपाली व्यावसायिक तरिकाले लागेका उनी अर्को वर्ष फूल खेतीलाई अझै विस्तार गर्ने सोच रहेको बताउँछन् । 

कालीगण्डकी गाउँपालिकाद्वारा पाँच लाखको फूल बिक्री 

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पाँच लाख रुपैयाँ बाराबरको फूल बिक्री गरेको छ ।  फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल बिक्री गरेर गाउँपालिकाले रु पाँच लाख आम्दानी गरेको हो ।
गाउँपालिकाले वडा नं ७ को बारीचौरमा पाँच र वडा नं ४ बिर्घा पुछारमा १४ रोपनी गरी कुल १९ रोपनी जग्गा भडामा लिएर सयपत्री फूलखेती गरेको थियो । फूल बिक्रीका लागि कुनै पनि समस्या नभएको र मागअनुसारको फूल प्ु¥याउन नसकेको गाउँपालिकाले जनाएको छ । 
गाउँपालिकाभित्रै रोजगारी सिर्जना गर्ने योजना अनुसार पहिलोपटक सुरु गरेको व्यावसायिक फूलखेती सफल भएपछि यसलाई सबै वडामा विस्तार गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।
उनले भने, “स्थानीय बासिन्दालाई आवश्यक पर्ने फूलको बीउ, प्राविधिक सहयोगसमेत उपलब्ध गराएर यसलाई फूलैफूलको गाउँपालिका बनाउने योजनाअनुसार हामी काम गर्दैछौँ ।” 
काम गर्ने किसानलाई आवश्यक सहयोग प्रदान गरेर प्रोत्साहन गर्ने कार्यमा गाउँपालिकाले कुनै पनि प्रकारको कन्जुस्याइँ नगर्ने अध्यक्ष थापाले बताए । 
किसानले उत्पादन गरेका वस्तु बजारीकरणको जिम्मासमेत गाउँपालिकाले लिने अध्यक्ष थापाको भनाइ छ । कृषिका माध्यमबाटै स्थानीयवासीलाई स्वरोजगार बनाउने योजनाअनुसार गाउँपालिकाले नै पहिलो चरणमा फूल र ड्रागन खेती सुरु गरेको अध्यक्ष थापाले बताए । 
गाउँपालिकाले लगाएको फूलखेतीबाट पालिकावासीसमेत उत्साहित भएका छन् । पालिकाले लगाएको फूल ग्राहकको मागअनुसार पु¥याउन नकिएकाले आफूहरूलाई समेत यो खेतीतर्फ आकर्षित गरेको कालीगण्डकी–६ का हिराबहादुर गाहाले बताए । व्यावसायिकरूपमा फूलखेती गरेर समेत मनग्य आम्दानी गर्न सकिने अवस्था गाउँपालिकाले सिर्जना गरेको उनको भनाइ छ । 
गाउँपालिकाले सुरु गरेको फूलखेतीबाट करिब ४०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने पालिकावासीलाई फूलखेतीमा लाग्ने प्रेरणा मिलेको छ । फूलखेतीमा स्थानीयवासीले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । फूल रोप्ने कार्यदेखि गोडमेल, फूल टिप्ने, माला बनाउने कामसम्म आइपुग्दा करिब ४०० जनाले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ ।
सयपत्री कर्मा ५५५ जातको फूल लगाइएकामा पहिलो चरणको फूल बिक्री गरेर सकिएको छ । तिहारअघि नै तिहारका लागि साथै अन्य विभिन्न कार्यक्रम, पूजापाठ, विवाह, सजावटलगायतका कार्यका लागि बगैँचामै आएर ग्राहकले फूल लगेका छन् । सयपत्री कर्मा ५५५ जातको फूल मङ्सिरसम्म टिप्न मिल्ने हुँदा पहिलो चरणमा फक्रिएका फूल बिक्री गरेर सकिएको र अहिले पनि ती बोटमा कोपिला लागिरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख हुमप्रसाद श्रेष्ठ (मनिष)ले जानकारी दिए । 
उनका अनुसार प्रतिमाला फुटकरमा रु ८० देखि ९० सम्ममा र होलसेलमा रु ४५ मा बिक्री भएको छ । फूलखेती गर्दा करिब रु दुई लाख ४८ हजार खर्च भएको र रु पाँच लाख आम्दानी भएकोसमेत गरेको कृषि शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । 
यहाँ उत्पादित फूल गण्डकी, लुम्बिनी, बागमती र कर्णाली प्रदेशसम्म निर्यात गरिएको गाउँपालिकाले जनाएको छ । बारीचौरलाई फूलैफूलको होमस्टे बनाउने पालिकाको योजना छ भने बिर्घामा ड्रागन खेतीसँगै फूलखेतीसमेत गरिएको छ ।–रासस 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार