सुन्तलाले चर्चित घोर्ले गाउँमा विद्युत् विस्तार

शुक्रबार, कात्तिक १९, २०७८

खोटाङ :  खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीको घोर्लेमा विद्युत‍्को राष्ट्रिय प्रशारणलाइन विस्तार गरिएको छ । सुन्तला खेतीका लागि चर्चित मानिने घोर्लेमा गाउँपालिकाले विनियोजन गरेको २८ लाख र उपभोक्ताको श्रमदानबाट नेपाल विद्युत् प्राधिकरणको गाईघाट–दिक्तेल प्रशारणलाइन अन्तरगतको विद्युत् विस्तार गरिएको हो । 

गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले घोर्लेमा बत्तीको स्विच अन परेर विद्युत् उद्घाटन गरेका छन् । गाउँका ३५ घरमा राष्ट्रिय प्रशारणलाइनको विद्युत‍्बाट बत्ती बलेपछि घोर्लेका स्थानीयले खुसीयाली मनाएका छन् । 

सुरुङ्खेले भन्ने ठाउँबाट पोल र तार टाँग्दै घोर्लेमा विद्युत् पुर्‍याइएको हो । गाउँमा विद्युत् विस्तारका लागि स्थानीयले पोल र तार ओसार्ने, शाखा लाइनको पोल गाड्ने लगायतका काममा श्रमदान गरेका थिए । भौगोलिक रूपमा कोल्टे ठाउँ भएकाले घामले नभेट्दा सोलार समेत प्रभावकारी बन्न नसकिरहेको अवस्थामा विद्युत् विस्तार भएपछि युवामा उत्साह जगाएको स्थानीय शिक्षक जीवन राईले बताए । 

‘गाउँमा स्थायीरुपमा उज्यालो बालिएको छ । विद्युतीय उपकरण, इन्टरनेट र सूचनामा पहुँच वृद्धि भएको छ,’ शिक्षक राईले भने, ‘युवामा विद्युत‍्बाट चल्ने नयाँ व्यवसाय सुरु गर्ने, कृषि पेसालाई आधुनिकीकरण गर्ने सोच पलाएको छ । ऊर्जा मिलेको छ ।’ घोर्लेबाट वार्षिक करोडको‍ सुन्तला निर्यात हुने गरेको छ । घोर्लेलाई खोटाङको सुन्तलाको राजधानी मान्ने गरिन्छ । 

६ वडा रहेको जन्तेढुंगा गाउँपालिकामा २०७६ सालदेखि विद्युत् बिस्तारको काम अघि बढेको हो । गाउँपालिकाको केन्द्रकारुपमा रहेको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीबजारस्थित बिपी चोकमा १३ वैशाख २०७६ मा प्रतिनिधिसभाका सांसद विशाल भट्टराईले स्विच अन गरेर केन्द्रीय विद्युत् प्रशारणलाइन उद्घाटन गरेका थिए । 

जन्तेढुंगा गाउँपालिकाको चिसापानी क्षेत्रमा विद्युत् विस्तारका लागि तत्कालीन जिल्ला बिकास समितिले आर्थिक वर्ष २०७३/०७४ मा ५९ वटा पोल र तार उपलब्ध गराएको योजनालाई गाउँपालिकाको ८५ लाख बजेट खर्च गरेर सफल बनाएको थियो । गाउँपालिकाका अन्य वडामा पनि क्रमशः विद्युत् विस्तारको काम भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार