इजरायलद्वारा सिरियाको राजधानी दमास्कस क्षेत्रमा हवाई आक्रमण

बिहीबार, कात्तिक १८, २०७८

बेरूत । इजरायलद्वारा सिरियाको राजधानी दमास्कस क्षेत्रमा हवाई आक्रमण गरेको छ । इजरायलले दमास्कस वरपरको क्षेत्रमा क्षेप्यास्त्रमार्फत बुधबार हवाई हमला गरेको सैन्य स्रोतलाई उद्धृत गर्दै सिरियाली सरकारी टेलिभिजनले जनाएको हो । 
इजरायली आक्रमणबाट सिरियामा भौतिक क्षति भएको समाचारमा उल्लेख गरिएको छ । तर, पछिल्लो क्षेप्यास्त्र हमलाबारे इजरायली अधिकारीले हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।
गत शनिबार पनि इजरायलले सिरियाली राजधानीबाहिरको क्षेत्रमा क्षेप्यास्त्र हमला गरेको थियो । इजरायली क्षेप्यास्त्रलाई सिरियाले वायुरक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो । यसअघि अक्टोबर १४ मा मध्य सिरियामा भएको हवाई हमलामा परी सरकारपक्षीय ९ जना लडाकू मारिएका थिए । इरान समर्थित समूहका अखडालाई लक्षित गरी उक्त हमला भएको बताइएको थियो । 
सिरियामा बढ्दो इरानी प्रभाव र सैन्य उपस्थितिपछि सजग बनेको इजरायलले कैयौं पटक सिरियाली भूमिमा आक्रमण गर्दै आएको छ । लेबनाली समूह हेजबोल्लाहजस्ता इरान समर्थित लडाकूका अखडा, सशस्त्र बाहन र केन्द्रलाई लक्षित गरी आफूले हमला गरेको इजरायलले स्वीकार्दै आएको छ । इजरायलले हेजबोल्लाहका लागि पठाइने सैन्य सामग्री बोकेका साधनमाथि समेत आक्रमण गर्दै आएको छ ।– रासस/एएफपी
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  २१:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार