पहिरोले सडक अवरुद्ध हुँदा नवदुर्गा-३ का स्थानीय सास्ती भोग्दै

बिहीबार, कात्तिक १८, २०७८

डडेल्धुरा :  गत असोज ३१ गते आएको अविरल वर्षाका कारण डडेलधुरा अधिकांश सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा स्थानीय आवतजावतमा सास्ती भोग्दै आएका छन् ।

जिल्लाको नवदुर्गा गाउँपालिकाको चिल्फि, कुरगेडी, सकायललगाएतका गाउँ जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेको छ।  तर, स्थानीय तहले सडकमा गएको पहिरो नहटाइदिँदा सर्वसाधारणले समस्या भोग्नु परिरहेको हो ।

दैनिक उपभोग्य खाद्यान्नको अभाव भएर स्थानीयले चर्को मूल्यमा खरिद गर्नु पर्ने अवस्था आए पनि गाउँपालिका बेखबर रहेको स्थानीयको गुनासो छ । बाटो अवरुद्ध हुँदा बिरामी, ज्येष्ठ नागरिक, महिला र बालबालिकाले थप सास्ती भोग्ने गरेको स्थानीय दीपेन्द्र विष्टले बताएका छन्।

खाद्यान्न खरिद तथा स्थानीय उत्पादन बिक्रीका लागि पैदलयात्रा गर्नुपरेको उनको गुनासो छ । बाटो मर्मत गर्न स्थानीय सरकार र अन्य सरोकारवालाको अझैसम्म ध्यान नगएको स्थानीय बताउँछन् । 

यता गाउँपालिकाका उपाध्यक्ष डम्बरी ओलीले गाउँपालिकाले सडक सुधारका लागि दुई वटा जेसीवीलगाएको बताएकी छन् । बीचमा जेसीवी बिग्रिएर सडक सुधार गर्न समस्या भएको उनको भनाइ छ। छिट्टै वडाभरिका सबै सडक सञ्चालनमा आउने उनले बताइन् । 

डडेल्धुराका पहिरो पीडितको तिहार खल्लो

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ सकायलस्थित गुएलीखेत गाउँका स्थानीयको तिहार खल्लो बनेको छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाले गरेको क्षतिका कारण उनीहरूको तिहार खल्लो बनेको हो । 

तिहारको माहौल छ । तर, गुएलीखेत गाउँका नागरिकलाई भने तिहारले छोएको छैन । अविरल वर्षाले यहाँको २०/२५ परिवारको खेतीयोग्य जमिन बगरमा परिणत भएपछि गाउँ नै चिन्तित छ । 

तिहार लागे पनि आफूहरूलाई तिहारको रौनकले नछोएको स्थानीय सावित्री अवस्थी बताउँछिन् । खेती योग्य जमिन बगरमा परिणत भएपछि साँझ बिहानको छाक कसरी टार्ने भन्दै पिरोल्न थालेको उनको दुखेसो छ । 

‘न खेत रह्यो न त घर नै । प्रधानमन्त्री शेरबहादुर देउवादेखि गृहमन्त्री बालकृष्ण खाँडसम्म आइपुग्दा हामीहरूले राहत समेत पाएनौं,’ स्थानीय जमुना देउवा भनिन् ।

राहतको आशा आफूलाई नभएको र आफ्नो बगरमा परिणत भएको खेतको बालुवा स्काभेटर लगाएर खेती योग्य जमिनमा परिणत गरिदिन उनको माग छ ।  

२०/२५ परिवारको ३५ रोपनी जमिन बगरमा परिणत बनाएको स्थानीय विश्वनाथ अवस्थीको भनाइ छ। ‘बुधबार गृहमन्त्री खाँण आए पनि क्षतिको अनुगमन गरेनन् । अब राहतको के आशा राख्नु । टाठाबाठा बाहेक वास्तविक पीडित मन्त्रीको न कुरा सुने न त  अनुहार नै देखे,’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  १९:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार