प्रधानमन्त्री देउवा भोलि बिहान स्वदेश फर्कंदै 

बुधबार, कात्तिक १७, २०७८

इडनवर्ग । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य (बेलायत) को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिई भोलि स्वदेश फर्कँदै छन् । 
यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन प्रस्थान गरेका थिए । प्रधानमन्त्री नेतृत्वको टोली आज स्थानीय समय दिउँसो १ः५५ बजे इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै भोलि बिहान काडमाडौँ आइपुग्नेछ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी भएकाले उनी बाहेक भ्रमण टोलीमा रहेका अन्य सबैजना स्वदेश फर्किंदै छन् । 
स्वदेश फर्कनुअघि आज प्रधानमन्त्री देउवाले स्कटल्याण्डको इडेनवर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गरी उनको सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुको साथै सो गार्डेनमा रहेको नेपाली बगैँचामा भोजपत्रको विरुवा रोपेका थिए । पाँचौँपटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गरेका थिए । त्यहाँ रहँदा प्रधानमन्त्री देउवासँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट भएको थियो । 
प्रधानमन्त्री देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वल्ड लिडर समिटलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  २१:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार