सोसल मिडिया
Contact Us
युनिकोड
बझाङ । गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिराबाट ठूलो जनधनको क्षति भएको बझाङलगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडीलाई सङ्कटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताएका छन् । बाढीपहिराका कारण भएको क्षतिको निरीक्षण गर्न बझाङको खप्तड छान्ना गाउँपालिकामा आएका मन्त्री खाँणले बाढीपहिराका कारण बझाङलगायत डडेल्धुरा र बैतडीमा ठूलो जनधनको क्षति भएकाले यी जिल्लालाई तत्कालै सङ्कटग्रस्त जिल्ला घोषणा गरेर पूर्वाधार निर्माणमा जोड दिने बताए । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री खाँणले खप्तड छान्नाको ऐचेली बगरमा बाढीपहिराबाट प्रभावित स्थानीय नागरिकसँग क्षतिबारे छलफल गरे । उनले प्रधानमन्त्री विदेशबाट फर्कीसकेपछि मन्त्रिपरिषद्को निर्णयबाट बझाङ, बैतडी र डडेल्धुरा जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले प्रभावित परिवारलाई प्रक्रिया पु¥याएर प्रमुख जिल्ला अधिकारीमार्फत तत्काल राहत उपलब्ध गराउने जानकारी दिए । बाढीपहिरापीडित नागरिकका लागि सरकारले तत्काल राहतका कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्दै उनले सरकार नागरिकसँगै रहेकाले सबैलाई धैर्य भएर बस्न आग्रहसमेत गरे। मन्त्री खाँणले बाढीपहिरामा परेर मृत्यु भएकाको परिवार र घरसमेत नष्ट भएका परिवारका लागि तत्कालै सरकारले प्रतिपरिवार ५० हजार दिने निर्णयसमेत गरिसकेकाले सो रकम लिनका लागि स्थानीयवासीलाई आग्रह गरे । कार्यक्रममा खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क रोकायाले पालिकामा भएको जनधनको क्षतिका बारेमा जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लामा भएको क्षतिका बारेमा मन्त्री खाँणलाई जानकारी गराएको थियो । जिल्लाको खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकामा भएको बाढीपहिराबाट भएको क्षतिबारे मन्त्री खाँणले निरीक्षण तथा अवलोकन गरेका थिए । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म भएको बाढीपहिरोबाट जिल्लामा १२ जनाको मृत्यु भएको थियो भने १९ जना बेपत्ता भएका थिए । बाढीपहिरोबाट हजारौं हेक्टर जमिन बगरमा परिणत हुनाका साथै झण्डै एक सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।
गृहमन्त्रीसमक्ष ढुङ्गाडवासीको माग : पुनर्वास गर्दिनुपर्याे
बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा बैतडीको ढुङ्गाड पुगेका कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँडलाई बाढीपहिरो पीडितहरूले ज्ञापनपत्र बुझाएका छन् । बुधबार दिउँसो ढुंगाड पुगेका गृहमन्त्रीलाई सेती बाढीपीडितहरूले पुनर्वासको व्यवस्था मिलाउन माग गरेका छन् ।
जवाफमा गृहमन्त्री खाँडले बाढी प्रभावित समुदायको सहयोगका लागि सरकारले विशेष व्यवस्था गर्ने वचन दिएको स्थानीय नरेन्द्र रोकायाले जानकारी दिए । गृहमन्त्रीले पीडितहरूलाई सम्बोधन गर्दै भने ‘यो क्षेत्रमा बाढीपहिरोले पुर्याएको क्षतिका बिषयमा स्थलगत जानकारी भएको छ । पुनर्स्थापना लागि विशेष राहत कोष बनाएर सरकारले कामअघि बढाउँछ ।’ गृहमन्त्रीले प्रभावित क्षेत्रका नागरिकहरूका लागि छिट्टै राहत प्याकेज घोषणा गर्ने समेत बताए ।
यस्तै, ढुंगाडवासीले पश्चिमसेती जलविद्युत आयोजनाको काम समेत अघि बढाउन आग्रह गरेका छन् । सोही योजनाका रोकिँदा ढुंगाड क्षेत्रमा विकास नभएको बारे गृहमन्त्रीको ध्यानाकर्षण गराएको स्थानीय नरेन्द्र रोकायाले जानकारी दिए ।
कात्तिक पहिलो साता परेको अविरल बर्षाले बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडमा व्यापक क्षति पुर्याएको थियो । सेती नदीको बाढीले खेत बगाउँदा स्थानीयहरुलाई निकै समस्या भएको छ ।