अरुणबाट उत्पादित विद्युतले  नेपालको अर्थतन्त्र मजबुद बनाउँछ : अर्थमन्त्री शर्मा 

बुधबार, कात्तिक १७, २०७८

किमाथाङ्का । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताएका छन् ।  खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युतले  नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए । नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथाङ्का अरुण निर्माण गर्न लागिएको सो अवसरमा उनले जानकारी दिए । “अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दैछ”, मन्त्री शर्माले भने । व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने उनले प्रतिबद्धता जनाए । अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको मन्त्री शर्माको भनाइ थियो ।  

‘अरुण कोरिडोर आयोजना सरकारले अघि बढाउँछ’
अर्थमन्त्री शर्माले अरुण करिडोर आयोजनाको काम सरकारले चाँडै थाल्ने बताएका छन् । प्रेस सेन्टर नेपाल सङ्खुवासभाले आज यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले अरुण करिडोर सञ्चालनका लगि सरकारले गृहकार्य थाल्ने बताएका हुन् । सङ्खुवासभाका लागि महत्वपूर्ण सडक आयोजना अरुण करिडोर नै भएको उनले बताए । सो आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको बताउँदै उनले किमाथाङ्का नाका सञ्चालनको पहल गर्ने उल्लेख गरे ।  किमाथाङ्का नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्वका साथ हेरीररहेको उनको भनाइ थियो । नेपालको पानी जनताको लगानीले अरुण नदीको विभिन्न आयोजना सफल बनाउने मन्त्री शर्माले बताए । उनले पाँच दलको गठबन्धनको सरकार निरन्तर चल्नेमा शङ्का नगर्न आग्रह गरे ।–रासस 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार