ऋषिङमा अध्यक्ष कप भलिबल हुने

मंगलबार, कात्तिक १६, २०७८

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाले दोस्रो संस्करणको अध्यक्ष कप अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । १८ देखि २२ मंसिरसम्म अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ  । ऋषिङ गाउँपालिका–१ झापुटारमा भलिबल खेलाइने गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । देशभर ५० बढी पालिका सहभागिता हुने अनुमान गरेको उनले जनाए । गतवर्ष पहिलो संस्करणको अध्यक्ष कपमा १७ समूहले सहभागिता जनाएका थिए । अध्यक्ष श्रेष्ठका अनुसार विजेताले नगद एक लाख ४० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो, तेस्रो र चौथो हुने टीम क्रमशः एक लाख रुपैयाँ, ६० हजार रुपैयाँ र ३० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनेछ ।मंगलबार आयोजित पत्रकार सम्मेलनमा विकास निर्माणसँगै खेलकुद गतिविधिलाई पनि प्राथमिकतामा राखेर अध्यक्ष कप आयोजना गरेको श्रेष्ठले बताए । ‘हामी निर्वाचित भएर आएको दोस्रो बर्षदेखि खेलकुदलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने । खेलकुद गतिविधिबाट ऋषिङलाई चिनाउने काम समेत भएको उनले बताए । प्रतियोगिता सञ्चालनमा गाउँपालिकाले चालु बर्षको बजेटबाट ६ लाख रुपैयाँ छुट्याएको छ । गाउँपालिकाले २७ पुसमा दोस्रो संस्करणको ऋषिङ म्याराथन गर्दैछ । चैते दसैंमा उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता गर्ने तयारी छ । गत बर्ष कोरोना कहरमै पनि जिल्लाका अधिकांश गाउँपालिका र नगरपालिकाले मेयर÷अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार