सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । गत ३ वैशाखमा विश्वासको मत लिँदा नेपाली कांग्रेससँग भएको सहमतिका आधारमा राजीनामा दिएका हुन् ।
सोमबार बेलुका मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामाको घोषणा गरेका हुन् ।
३ वैशाखमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा कांग्रेसलाई छ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए ।
गत वैशाखमा नेकपा एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । त्यस बेला कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएपछि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो । सत्ता साझेदारी गर्ने सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री शाहीले राजीनामा दिएपछि कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री हुने बाटो खुलेको छ । त्यही आधारमा आफूले सहमतिको पालना गरेर राजीनामा दिएको मुख्यमन्त्री शाहीले बताए ।
कस्तो बन्ला भावी सरकार
मुख्यमन्त्री शाहीले राजीनामा दिएपछि नेपाली कांग्रेसका कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् । कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी सहभागी हुनेछन् ।
फ्लोर क्रस गरेर मन्त्री भएका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पदावधि सकिएको छ । तीन जना मन्त्री पदमुक्त भएपछि एकीकृत समाजवादीले पदमुक्त भएका तीन मन्त्रालय आफूले पाउनुपर्ने एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य देवी ओलीले बताइन् ।
कर्णाली प्रदेशमा हाल आठवटा मन्त्रालय रहेका छन् । आठवटामध्ये माओवादी केन्द्रले चारवटा मन्त्रालय पाउनुपर्ने माग गरेको छ ।
कर्णालीका तीन मन्त्रीको पदावधि सकियो
कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीको पदावधि सकिएको छ । भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पदावधि सकिएको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिँदा फ्लोर क्रस गरेर मन्त्री भएका तीनै जनाको पदावधि सकिएको हो ।
विश्वासको मत दिएकै भोलिपल्ट मुख्यमन्त्री शाहीले (४ वैशाख) तीन जनलाई मन्त्री नियुक्त गरेका थिए । मन्त्री भएपछि एमालेले सांसद पदबाट मुक्त भएका थिए ।
गैरसांसद मन्त्री हुन नपाउने व्यवस्थाअनुसार छ महिना पुगेका कारण आजदेखि स्वत: पद मुक्त भएका हुन् ।
एमालेले पदमुक्त गरेपछि उनीहरू १५ वैशाखदेखि गैरसांसदका रूपमा रहेका थिए । पदमुक्त भएका तीन जना मन्त्रीहरू नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता हुन् ।
तीन जना मन्त्री पदमुक्त भएपछि एकीकृत समाजवादीले पदमुक्त भएका तीन मन्त्रालय आफूले पाउनुपर्ने अडान राखेको छ ।