सोसल मिडिया
Contact Us
युनिकोड
राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्ने गरी मद्दतका लागि तीन दर्जनजति मुलुकले ४३ करोड ९० लाख डलर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ । राष्ट्रसंघले आशा गरेको एक अर्ब ५० करोडको तुलनामा यो रकम निकै कम हो । भिडियो कन्फरेन्समार्फत सदस्य दातृ मुलुकसँगको अन्तत्र्रिmयामा यस्तो प्रतिबद्धता व्यक्त भएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा सन् २०२० मा प्राप्त भएको रकमसमेत ३९ वटा दातृ मुलुकबाट ४३ करोड ९० लाख मात्र प्रतिबद्धता व्यक्त भएको उल्लेख छ । शान्ति कोषबाट साहेल, मध्य एसिया, मध्यअमेरिका र बाल्कन क्षेत्रसमेतका ५१ मुलुकमा विगत तीन वर्षदेखि शान्ति अभियान सञ्चालन भइरहेका छन् । यी कार्यक्रमका लागि तीन वर्षमा ३५ करोड ६० लाख खर्च भइसकेको छ । सन् २००६ मा स्थापित राष्ट्रसङ्घीय शान्ति निर्माण कोषका प्रमुख मार्क–आन्द्रे फ्रान्चले सन् २०२० देखि २०२४ सम्मका पाँच वर्षका लागि डेढ अर्ब डलर परिचालन गर्ने लक्ष्य राखिएको जानकारी दिए । फ्रान्चका अनुसार ३४ वटा मुलुकले कोषमा रकम दिएका छन् तर त्यसमध्ये ६० प्रतिशतभन्दा बढी रकम जर्मनी, स्वीडेन र बेलायतले उपलब्ध गराएका छन् । जर्मन विदेशमन्त्री हेको मासले आगामी दुई वर्षमा जर्मनीले कम्तीमा छ करोड आठ लाख उपलब्ध गराउने बताए । राष्ट्रसंघका लागि फ्रान्सेली राजदूत निकोलास डी रिभियेराले आफ्नो मुलुकले ४५ लाख डलर योगदान गर्ने जानकारी गराएका थिए ।– एएफपी