रिपब्लिकन सिनेटर ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने सङ्केत

बुधबार, माघ १४, २०७७

वासिङ्टन । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो रिपब्लिकन सिनेट सदस्य उभिने सङ्केत देखिएको छ ।  ट्रम्पको उक्साहटमा अमेरिकी संसद्मा आक्रमण भएको भन्दै डेमोक्रेटिक पार्टीले उनीविरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाएको छ । ट्रम्पको कार्यकाल समाप्त भइसकेको अवस्थामा पनि अमेरिकी माथिल्लो सदन सिनेटमा महाभियोग प्रस्ताव विचाराधीन छ ।  डेमोक्रेट पार्टीको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले भने ट्रम्प विरुद्ध महाभियोग प्रस्ताव पारित गरी सिनेटमा छलफलका लागि पठाइसकेको छ । 
उक्त प्रस्तावमा आगामी फेब्रुअरी ९ देखि सिनेटमा छलफल गर्नेगरी कार्यतालिका सार्वजनिक भइसकेको छ । 
ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित हुन कम्तीमा १७ जना रिपब्लिकन सिनेटरले डेमोक्रेट पार्टीलाई साथ र समर्थन गर्नुपर्नेछ जुन डेमोक्रेटका लागि फलामको च्यूरा चपाए सरह हुनेछ । अमेरिकी कानुन बमोजिम कुनै पनि राष्ट्रपति विरुद्धको महाभियोग पारित हुन सिनेटमा दुई तिहाई मत आवश्यक पर्दछ । हाल सिनेटमा रिपब्लीकन र डेमोक्रेट पार्टीबाट ५०–५० सदस्य छन् । 
निवर्तमान राष्ट्रपति ट्रम्पको कार्यकाल समाप्त भई विदा भइसकेको अवस्थामा महाभियोगमाथि छलफल गर्नुको औचित्य छैन भन्ने केन्टकी राज्यका रिपब्लीकन सिनेटर रान्ड पलको भनाइलाई सिनेटमा भएको मतदानमा ५५–४५ ले अस्वीकार गरेको थियो । मतदानपछि बोल्दै सिनेटर पलले ४५ जना सिनेटर महाभियोगको विपक्षमा रहेकाले महाभियोग प्रस्तावको संवैधानिक आधार समाप्त भइसकेको जिकिर गरेका थिए । महाभियोगको सुनुवाइको अध्यक्षता गर्नुभएका ८० वर्षीय सिनेटर प्याट्रिक लेही मङ्गलबारको प्रारम्भिक सुनुवाइपछि एकाएक अस्वस्थ भएर अस्पताल भर्ना भएका थिए । तर उनको स्वास्थ्य अवस्था सुधार भइसकेको उनका प्रवक्ताले बताएका छन् । पछिल्ला राजनीतिक घटनाक्रम र अर्कान्सा राज्यको गभर्नरका लागि ह्वाइट हाउसकी पूर्वप्रेस सचिव सराह हक्याबी स्यान्डर्सको मनोनयनले रिपब्लीकन पार्टीभित्र ट्रम्पको प्रभाव निकै रहेको अनुमान गरिएको छ ।– एएफपी

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार