सोसल मिडिया
Contact Us
युनिकोड
तनहुँ : नेकपा (एमाले)ले तनहुँका तीन पालिका सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरेको छ । व्यास नगरपालिका, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरिएको हो ।
मंगलबार राति व्यास नगर कमिटीको अध्यक्षमा वीरेन्द्र अधिकारी सर्वसम्मत चयन भए । लामो छलफलपछि अध्यक्षका आकांक्षी तुल्सीराम पाण्डे उपाध्यक्षमा बसेपछि व्यासमा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो । सचिवमा ज्ञानेन्द्र बसौला, उपसचिवमा मधु पण्डित र सीता पाण्डे चयन भएका छन् ।
आँबुखैरेनी गाउँपालिकामा मिना अधिकारीको नेतृत्वमा ५३ सदस्यीय गाउँ कमिटी गठन भएको छ । उपाध्यक्षमा चन्द्रबहादुर थापा, सचिवमा बेलबहादुर गुरुङ, उपसचिवमा पूर्णबहादुर आले र जमालदिन मियाँ चयन भएका छन् ।
बन्दीपुर गाउँ कमिटी अध्यक्षमा सुरेन्द्र थापा सर्वसम्मत भएका छन् । थापाको नेतृत्वमा ६७ सदस्यीय गाउँ कमिटी चयन गरिएको हो । उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, सचिवमा कुलेन्द्र गौतम, उपसचिवमा रवि श्रेष्ठ र अमिर गुरुङ चयन भएका छन् ।
शुक्लागण्डकी नगरपालिका ध्यक्षमा मुक्ति तिम्लिसिना र सचिवामा रघुनाथ पौडेल सर्वसम्मत चयन भए । यी दुवै यसअघि पनि सोही पदमा थिए । अन्य पदमा आकांक्षी धेरै हुँदा सहमति हुन सकेकाे छैन ।
मंगलबार अधिवेशन सुरु भएको भानु नगरपालिका र भिमाद नगरपालिकामा नेतृत्व चयन हुन सकेको छैन । दुई नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ ।
घिरिङ गाउँपालिकामा अधिवेशन सुरु भएर १५ गतेसम्मलाई स्थगित गरिएको छ । वडाबाट पालिका प्रतिनिधि छनोट लगायतका काम अधुरो रहेकाले अधिवेशन सुरु गरेर स्थगित गरिएको हो ।
ऋषिङ, देवघाट र म्याग्दे गाउँपालिकाको अधिवेशन सुरु हुन सकेकाे छैन । अब ऋषिङको ११, देवघाटको १४ र म्याग्देको १५ कात्तिकमा अधिवेशन हुने एमाले तनहुँले जनाएको छ ।
ओखलढुंगाका आठमध्ये पाँच तहमा सहमतिमै नेतृत्व चयन
नेकपा (एमाले)को पालिका अधिवेशनमा ओखलढुंगामा पाँच तहमा नेतृत्व चयन भएको छ । आठमध्ये तीन तहमा भने बन्द सत्र चलिरहेको एमालेले जनाएको छ । ओखलढुंगामा एक नगरपालिकासहित आठ स्थानीय तह छन् ।
पाँच तहका कमिटी सर्वसम्मत चयन गरिएको एमालेका जिल्ला सचिव शंकर कट्वालले जनाकारी दिए । सदरमुकामसमेत रहेको सिद्धिरचण नगरपालिकामा अध्यक्ष मोहन केशी र सचिव कृष्ण कार्की चयन भएका छन् । चिशंखुगढीमा अध्यक्ष जीवन थापा र सचिव मानबहादुर बस्नेत, खिजीदेम्वामा अध्यक्ष कोपबहादुर सुनुवार र सचिव तिलक बहादुर सुनुवार चयन भएका छन् ।
मानेभञ्ज्याङ्ग गाउँपालिकामा अध्यक्ष चित्रकुमार तामाङ र सचिव उमेश कार्की, चम्पादेवीमा अध्यक्ष खेम मिश्र र सचिवमा नरहरी खड्का निर्वाचित भए ।
मोलुङ, सुनकोसी र लिखुमा नेतृत्व चयन भइसकेको छैन । मोलुङमा दुई प्यानलले उम्मेदवारी दर्ता गरेपछि सहमतिका लागि स्थगित गरिएको छ भने सुनकोसी र लिखुमा बन्द सत्र चलिरहेको एमालेले जनाएको छ ।