सोसल मिडिया
Contact Us
युनिकोड
पोखरा : नेकपा एमालेको पालिका अधिवेशनअन्तर्गत पोखराको अधिवेशन एक दिन स्थगित भएको छ । सर्वसम्मत नेतृत्व चयन गर्नेगरि सुरु भएको अधिवेशनमा धेरैले नेतृत्व दाबी गरेपछि स्थगित भएको हो ।
‘५–६ जना आकांक्षी हुनुभयो । धेरै उम्मेदवार भएपछि अहिले सहमति जुट्ने अवस्था देखिएन,’ एक नेताले भने, ‘रातभरिमा मिलाएर भोलि अधिवेशन सुरु गर्ने भनिएको छ ।’
पोखराको नेतृत्वका लागि एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र नेता खगराज अधिकारीको आफ्नै दाबीछ । नेतृत्वमा हालका अध्यक्ष दीपक पौडेल, नेता तेजनारायण अधिकारी, दिलीप न्यौपाने र व्यवसायीसमेत रहेका सञ्जीवबहादुर कोइरालाले दाबी गरेका छन् ।
पौडेल र अधिकारी गुरुङ निकट मानिन्छन् भने न्यौपाने अधिकारी गुटका हुन् । निर्वाचन प्रक्रिया नै बिहान १० बजेबाट सुरु हुने कास्की अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।
अन्नपूर्णमा पाँच जनाको उम्मेदवारी
पालिका अधिवेशनअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकामा मनोनयन सकिएको छ । तोकिएको समयभित्र पाँच जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ, वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, नेताहरू सोमनाथ पौडेल, गौरी सुवेदी र विवेक देवकोटाले मनोनयन दर्ता गराएका हुन् । मनोनयनपछि दाबेदारहरू बीच छलफल थालिएको छ ।
'पार्टीले चुनाव गराउनै हुन्न भनेको छ । निर्देशन अनुसार सहमतिमै नेतृत्व टुंग्याउने हो,’ एक नेताले भने, ‘नत्र मतदाता सबै हुनुहुन्छ, केहिबेरमा मतदान सुरु हुन्छ ।’
रुपन्देहीका तीन पालिकामा एमालेको नेतृत्व सर्वसम्मत
नेकपा एमालेले रुपन्देहीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जिल्लाको सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र बुटवल उपमहानगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
सैनामैना नगरपालिकाको प्रथम नगर अधिवेशनबाट टेकनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।
नगरकमिटी अध्यक्षका लागि बहालवाला नगर अध्यक्ष न्यौपानेसँगै सालिकराम भण्डारी र जीवनाथ पाण्डेले दाबी पेस गरेकोमा न्यौपाने सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
नगर कमिटीको उपाध्यक्षमा टमबहादुर पुर्जा, सचिवमा बुद्धिराम चौधरी, उपसचिवद्वयमा सविता भुसाल भण्डारी र लेखनाथ खनाल चयन भएका छन् ।
अधिवेशनले ७५ सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन समितिका सदस्य अमृत गिरीले जानकारी दिए । रुपन्देहीका अन्य पालिकाहरूमा भने अहिलेसम्म नेतृत्व चयन हुन सकेको छैन । सर्वसम्मतको प्रयास जारी रहेकाले नेतृत्व चयनमा केही ढिलाइ भएको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए ।
दाङका पाँच पालिकामा सर्वसम्मत
नेकपा एमालेले दाङका पाँचवटा पालिकामा मात्र नेतृत्व टुंगो लगाएको छ । १० वटा स्थानीय तहमध्ये पाँच पालिकामा सर्वसम्मतबाट नयाँ नेतृत्व छनोट गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए । उनले बाँकी पाँच पालिकामा पनि सर्वसम्मतको प्रयास भए पनि अहिलेसम्म सर्वसम्मत हुन नसकेको बताए ।
उनका अनुसार अहिलेसम्म घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा नयाँ नेतृत्व टुंगो लागेको छ । गढवा गाउँपालिकामा बाबुराम अधिकारीको अध्यक्षतामा ५३ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा मदा न्यौपाने, सचिवमा शिवराज पन्थी, उपसचिवमा केशरी गिरी र मानबहादुर वली चयन भएका छन् ।
त्यसैगरी राजपुर गाउँपालिकामा हेमकुमार जीसीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी बनेको छ । उपाध्यक्षमा गोविन्द नेपाली, सचिवमा मन्साराम यादव, उपसचिवमा सिमाली झाँक्री र लोकबहादुुर खड्का चयन भएका छन् । बंगलाचुलीमा पुष्पराज भण्डारीको अध्यक्षतामा ४७ सदस्यीय कमिटी बनेको छ । उपाध्यक्षमा भीमबहादुर खत्री, सचिवमा भोजराज पन्त र उपसचिवमा धनबहादुर खड्का चयन भएका छन् ।
यसैगरी घोराही उपमहानगरपालिकामा भुवन चौधरी अध्यक्षमा निर्वाचित भएका छन् । घोराहीमा चौधरीको अध्यक्षतामा ७९ सदस्यीय नयाँ कमिटी गठन भएको हो । नवगठित कमिटीको उपाध्यक्षमा तारा पुरी, सचिवमा इन्द्र बुढाथोकी, उपसचिमा काशी खनाल र कुलबहादुर गोतामे चयन भएका छन् ।
यस्तै, नेकपा एमाले शान्तिनगर गाउँपालिकाको अध्यक्षमा धनबहादुर केसी, उपाध्यक्षमा थम्मन कनौ, सचिवमा टीकाराम रिजाल, उपसचिवमा राकेश बुढाथोकी र शान्ति कँडेल चयन भएका छन् । शान्तिनगरमा ४३ सदस्यीय कमिटी बनेको छ ।
त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रथम नगर अधिवेशनबाट नगर अध्यक्षमा निसार अहमद सर्वसम्मत चुनिएका छन् । अधिवेशनबाट उपाध्यक्षमा जगदीश यादव, सचिवमा कल्पना हरिजन, उपसचिवमा हरिकेश लोंध र नगेन्द्र लोंध चयन भएका छन् । अधिवेशनले ५५ सदस्यीय नगर कमिटी निर्माण गरेको छ ।
त्यस्तै बुटवल उपमहानगर कमिटीको अध्यक्षमा किसन ज्ञवाली सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा शोभाखर पोखरेल चयन भएका छन् । अन्य पदहरूमा सर्वसम्मतको प्रयास जारी छ ।
एमाले दिक्तेल रुपाकोट मझुवागढी अध्यक्षमा आचार्य
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेकपा एमालेको नगर कमिटी अध्यक्षमा गोपालचन्द्र आचार्य चयन भएका छन् । १५ वडा रहेको नगरपालिकामा मंगलबार सम्पन्न नगर अधिवेशनबाट ३३ वर्षीय आचार्य एमालेको नगर कमिटी अध्यक्षमा सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।
७५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा मनीचन्द्र राई, सचिवमा चित्रकुमार राई, उपसचिवमा लीला चौहान र बिनोद खड्का चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष आचार्य स्थानीय तह कार्यान्वयन पछिको पहिलो नगर अधिवेशनबाट पनि अध्यक्ष बनेका थिए । २०५६ सालमा पञ्च मावि दिक्तेलमा अखिल क्रान्तिकारीको सदस्य बनेर राजनीति थालेका आचार्य २०६७ सालमा एमाले प्रवेश गरेका हुन् । उनले युवा संघको जिल्ला सचिव, तत्कालीन दिक्तेल गाविसको एमाले अध्यक्षलगायतका भूमिका निर्वाह गरिसकेका छन् ।
पार्टीको नीति अनुसार संगठनलाई मजवुद बनाउने र सबै वडामा पार्टीलाई पहिलो बनाउने नवनिर्वाचित अध्यक्ष आचार्यले बताए ।
ऐसेलुखर्कमा राजभण्डारी
यस्तै, ऐसेलुखर्क गाउँपालिकाको एमाले पालिका अध्यक्षमा ३९ वर्षीय टेकेन्द्र राजभण्डारी चुनिएका छन् । पालिका कमिटीको उपाध्यक्षमा अरुण राई, सचिवमा माधव राई, उपसचिवमा सविन राई र बालकुमार राई चयन भएका छन् ।
२०५२ सालमा अनेरास्ववियुको त्रिभुवन मावि ऐसेलुखर्कको सचिवबाट राजनीति थालेका राजभण्डारी २०६८ सालमा ऐसेलुखर्क गाउँ कमिटी अध्यक्ष, इलाका कमिटी सचिव हुँदै नेकपा हुँदा पालिका कमिटीको कार्यालय सचिव बनेका थिए ।
काठमाडौं बसिरहेका बेला २०६२/६२ सालको जनआन्दोलनमा सशक्त सहभागिता जनाएका राजभण्डारीले संगठनलाई चुस्त दुरुस्त बनाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने प्रतिक्रिया दिए ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङका अन्य पालिका अधिवेशनको बन्दसत्र जारी रहेको एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए । पालिका अधिवेशनले जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाउने छन् । एमालेको पालिका अधिवेशनबाट पदाधिकारीसहित ७५ सदस्यीय पालिका कमिटी गठन हुने व्यवस्था छ ।