सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं :कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको कार्यतालिका संशोधन गर्न निर्देशन दिएका छन् । सभापति देउवाले मंसिरभित्र सम्पन्न हुने गरी १४औँ महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका हुन् ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र निर्वाचन समितिका सदस्यहरूबीचको छलफलमा आज सभापति देउवाले निर्वाचन समितिलाई मंसिरभित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको भन्दै कार्यतालिका संशोधनका लागि निर्देशन दिएका हुन् ।
कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार तिहारपछि क्रियाशील विवाद कायम रहेका जिल्लाको समस्या समाधान गरेर अधिवेशन हुन बाँकी स्थानीय तहका अधिवेशन सम्पन्न गर्ने र महाधिवेशनको मिति केही दिन पछि सार्ने योजनामा कांग्रेस रहेको छ ।
नेपाली कांग्रेसले १४औँ महाधिवेशन आगामी ९ देखि १२ मंसिरसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो ।
अब नेतृत्व युवाले लिनुपर्छ : गुरुराज घिमिरे
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले अब कांग्रेसको नेतृत्व युवा पुस्ताले गर्नु पर्नेमा जोड दिएका छन् । सर्लाहीको जानकीनगर वडा नम्बर-१ स्थित चौरमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अब बुढो पुस्ताले अभिभावकत्व ग्रहण गर्ने बेला आएको बताए ।
'जसरी पेले दर्शक छन्, सल्लाहकार छन् तर खेलाडी भने नेइमार छन् अब हाम्रो पार्टीमा पनि त्यस्तै हुनुपर्छ,' उनले भने, 'अब हाम्रो पुस्ताले राजनीति गर्ने हो र हाम्रो अग्रजले सल्लाहकारको भूमिका निर्वाह गर्ने हो ।' उनले अब ढुक्क भएर उमेर पुगेका नेताहरूलाई 'रिटायर' हुन् आग्रह गरे ।
'तपाईंहरू सभापति भइसक्नु भो, वरिष्ठ नेता भइसक्नु भयो र देशसमेत हाँकिसक्नु भएको छ,' उनले भने, 'अब आराम गर्नुस्, हामीले पनि पार्टी राम्रोसँग चलाउने छौं ।'
यस्तै, सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नेता बद्री पाण्डेले लोकतन्त्र पार्टी भित्र पनि जरुरी रहेकोमा जोड दिए । 'अब आन्तरिक लोकतन्त्रलाई पनि मजबुत गर्नु पर्ने दायित्व बढेको छ,' उनले भने, 'अब वैचारिक बहसले पार्टीलाई अगाडी बढाउनु पर्छ । नत्र हामीले जनताको विश्वास गुमाउन सक्छौं ।'
उनले युवाहरूको उपस्थिति १४औं महाधिवेशनमा राम्रो देखिँदै गरेको बताए । 'हामी कहाँ बाहिरी पार्टीबाट आएर भाँडभैलो गरेको जस्तो पनि देखिएको छ, त्यस्तो हामी कदापि हुन् दिने छैनौं,' उनले भने ।
नेपाली कांग्रेस सर्लाहीका पूर्व जिल्ला उपसभापति तथा क्षेत्र नम्बर ३ का युवा नेता विनोदकुमार खनालको नेतृत्वमा भएको कार्यक्रममा चार सय बढीले पार्टी प्रवेश गरेको जनाइएको छ । 'यहाँ कांग्रेस बढ्नुमा विकास र विश्वास प्रमुख कारक रहेको छ,' नेता खनालले बोल्दै भने, 'हामी विकासमार्फत तपाइको मत जित्छौं । तपाईं हामीलाई ढुक्क भएर विश्वास गर्न सक्नुहुन्छ ।'