प्रधानन्यायाधीशमात्र होइन पाँचै न्यायाधीशलाई कारबाही हुनुपर्छ: एमाले नेता बडाल

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं : नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशव बडालले आफ्नो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने पक्षमा नभएको स्पष्ट पारेका छन् ।

‘महाभियोग लगाउने कि नलगाउने त्यो हाम्रो विषय होइन । गठबन्धन सरकारमा १६५ जना सांसदहरुको गणित छ,  उहाँहरुले के गर्नुहुन्छ त्यो उहाँहरुको कुरा हो । एमाले महाभियोगको विषयमा अघि बढ्न आवश्यक छैन । महाभियोग वा राजीनामा दिने यो हाम्रो चासोको विषय होइन,’ रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने ।

उनले आजको अवस्थामा पुर्‍याउनको लागि कसले बाध्य बनायो यो मुख्य विषय भएको पनि टिप्पणी गरे । उनले हिजो तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउन हुँदैन भनेर आफूले सशक्त आवाज उठाएको पनि स्मरण गराए ।

उनले संविधानलाई च्यातचुत गर्न र एमालेलाई सिध्याउन जेसुकै गर्ने काम यो बीचमा भएको भन्दै गुनासो पोखे । उनले भने, ‘अहिले जुन विषय उठिरहेको छ, पाँच जनाको इजलासले यति घण्टाभित्र फलानोलाई प्रधानमन्त्री बनाउन भनेर परमादेश जारी गर्ने काम भयो, म त भन्छु अहिले किन प्रधानन्यायाधीशलाई मात्रै पाँचै जनालाई कारबाही हुनुपर्छ ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले महाभियोग लगाउने भनेर नभनेको पनि स्मरण गराए । उनले भने, ‘यो विषयमा पनि गठबन्धनको तीन थरीको कुरा आएको छ ।’ हिजो एमाले नेतृत्वको सरकारले जनतामा जाने भन्दा प्रतिगमन हो भनिएको उल्ल्लेख गर्दै उनले मुलुकलाई अहिलेको गञ्जागोलको स्थितिमा ल्याउनको लागि विगत दुई वर्षदेखि षड्यन्त्र भएको पनि आरोप लगाए । उनले भने, ‘यो परिस्थितको सिर्जनाकार गठबन्धन हो ।' उनले हिजो गरेको सेटिङको परिणाम अहिले छताछुल्ल भएको पनि टिप्पणी गरे ।

प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने आधार छन्, तर माओवादीले सोचेको छैन: बिडारी

नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गरेका छन् ।

तर, आफ्नो पार्टीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नै नगरेको उनको भनाइ छ । उनले महाभियोग नै लगाउने भए एमालेसहितको दलले निर्णय गर्नुपर्ने बताए । उनले भने, ‘महाभियोगको विषयमा त न एमाले न गठबन्धन, सबै एकमत हुनुपर्छ । न्यायालय बलियो बनाउनुपर्छ । यो दृष्टिकोणले दलले निर्णय गर्नुपर्छ ।’

रिपोर्टर्स क्लबको साक्षात्कारमा मंगलबार बोल्दै बिडारीले न्यायालयमा प्रधानन्यायाधीश र बाँकी न्यायाधीशहरुबीच द्वन्द्व चल्नु विडम्बनाको अवस्था भएको बताए । उनले भने, ‘प्रधानन्यायधीश भनेको न्यायापालिकाको नेता हो । न्यायलयभित्र यत्रो वितण्डा आउनु, पूर्वप्रधानन्यायाधीशहरुले जबराले न्यायालय हाँक्न सक्नुहुन्न भन्नु, बारले पनि राजीनामा माग्नु, सबै न्यायाधीशहरुले समस्त इजलास बहिष्कार हुनु, अनि न्यायाधीशहरुले प्रधानन्यायाधीशमा कार्यदक्षताको अभाव भयो भनेर भन्नु उहाँमाथि महाभियोग लगाउनसक्ने आधार र कारण बन्यो ।’

बिडारीले आफूले प्रधानन्यायाधीशको राजीनामा नमाग्ने पनि उल्लेख गरे । बरु, महाभियोग लगाउने कुरा संवैधानिक हुने उनको तर्क छ । प्रधानन्यायाधीशसमेत विपक्षी बनाएर परेको संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा एक वर्षसम्म पेशी नतोक्नु, संवैधानिक अंग थर्रथर्र हुने परिस्थितिको सिर्जना राणाले गरेकाले महाभियोगको आधार रहेको बताए । तर यो संसद्को अधिकारको कुरा भएको उल्लेख गरे ।

अहिले प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको विषयमा प्रतिनिधिसभाको विघटनको मुद्दाको हवाला दिनु गलत भएको पनि जिकिर गरे । उनले भने, ‘प्रतिनिधिसभा विघटनको मुद्दाको फैसलामा कसैको पनि विमति छैन । इजलासमा रहेका पाँच जनाको एकमत छ ।’

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार