आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं :  प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज मंगलबार देशभर पालिका अधिवेशन आयोजना गर्दैछ । गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो ।

पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाढीपहिरोले प्रभावित बाहेक पालिका कमिटीको अधिवेशनमा हुन लागेको हो । 

गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५  तथा उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ ।

असोजमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानअनुसार अधिवेशन भइरहेका हुन् । एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा १०औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।

पोखरामा पृथ्वीसुब्बा र खगराज निकटबीच प्रतिस्पर्धा

नेकपा एमालेले कास्कीकाे पोखरा महानगरपालिकासहित जिल्लाका पाँचवटै पालिकामा सर्वसहमतिमै नेतृत्व टुंग्याउन प्रयास थालेकाे छ । एमालेले आज मंगलबार देशभर पालिका अधिवेशन गर्दैछ ।

‘सर्वसम्मत नेतृत्व चयन भए सबैभन्दा बढी प्रजातान्त्रिक हुनछहो । मतदान नै गर्नुपर्छ भन्ने छैन,’ एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले भने, ‘सबै जना सर्वसम्मतको पक्षमा हुनुहुन्छ ।’

पोखरा, रुपा र मादीमा पूरानै अनुहार दोहोरिने सम्भावना छ । पोखरामा हाल दीपक पौडेल अध्यक्ष छन् भने रुपामा सहबक्स मियाँ र मादीमा बालकृष्ण गुरुङ छन् । तीनै जनाले अध्यक्षमा दावी गरेका छन् ।

यद्यपि, पोखरामा तेजनारायण अधिकारी र दिलीप न्यौपानेले पनि दाबी गरेका छन् । अधिकारीले भने, ‘सर्वसम्मत अध्यक्ष बन्छु भनेर नै महानगरको प्रतिनिधि बनेको हुँ । अबको अध्यक्ष म नै हो ।’ अधिकारी र पौडेल पृथ्वीसुब्बा गुरुङ निकट छन् भने न्यौपाने खगराज अधिकारी निकटका हुन् ।

रुपामा मियाँलाई नै सर्वसम्मत रुपमा नेतृत्व हस्तान्तरण गर्ने तयारी छ । ‘उहाँले छोड्नुभयो भने मात्रै अरु विकल्प खोज्ने हो । उहाँले इच्छा देखाए यो कार्यकाल सर्वसम्मत रुपमा उहाँले नै पाउनुहुन्छ,’ एक नेताले भने, ‘गण्डकीमा मुस्लिम समुदायबाट अध्यक्ष बन्ने उहाँ मात्रै हो । त्यसैले यो एमालेका लागि पनि गौरवको विषय हो ।’ रुपामा मुस्लिम समुदायकाे बाहुल्य छ । यहाँ एमाले विभाजनको बेला एकीकृत समाजवादी रोजेर पनि पछि फर्किएका वडा नम्बर ५ का वडा सदस्य दामोदर घिमिरेले पनि अध्यक्षमा दावी गरेका छन् ।

मादीमा वर्तमान अध्यक्ष बालकृष्ण गुरुङ दोहोरिने सम्भावना छ । तर, वडा नम्बर ७ का वडाअध्यक्ष पसबहादुर बास्तोला र अर्का नेता हरिबाेल गौतमले पनि दाबी गरेका छन् । देखिएका ३ वटा नाम मध्येमा एउटालाई सर्वसम्मत रुपमा चयनकाे प्रयास भइरहेकाे छ । 

अन्नपूर्ण गाउँपालिकामा वर्तमान उपाध्यक्ष सगुन गुरुङले अध्यक्षमा दाबी गरेकी छन् । ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङ तथा नेता सुरेन्द्र गुरुङ, सोम पौडेल, विवेक देवकोटा, गौरी सुवेदी लगायतले पनि आकांक्षा देखाएका छन् । ‘म भुगोलमै राजनीति गर्छु । जिल्ला र प्रदेशमा जानु छैन,’ गुरुङले भनिन्, ‘अरु ठाउँ महिलाले नेतृत्व दाबी गरेनन् भन्नेहरु यहाँ महिलालाई नै पछि पार्न सर्वसम्मतको कुरा गर्छन् । सर्वसम्मत नै गरेपनि महिलाले नेतृत्व गर्दा के विग्रिन्छ ?’

माछापुच्छ्रेमा विक्रम गुरुङ रमहेश्वर दवाडीले आकाँक्षा देखाएका छन् । उनीहरुले आफ्नो प्यानलबाट सचिवको उम्मेदवार समेत घोषणा गरेका छन् । विक्रमको प्यानमा दुर्गाबहादुर क्षेत्री सचिव छन् भने दवाडीको प्यानलमा कमल भुजेल छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार