एमालेका पालिकास्तरमा भोलि अधिवेशन

सोमबार, कात्तिक ८, २०७८

काठमाडौँ । नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए सोका लागि प्राविधिकलगायत तयारी पूरा भएको बताए।    
यसअघि यही कात्तिक ६ गते सबै वडास्तरमा अधिवेशन तय गरिएकामा अधिकांश वडामा सम्पन्न भएको छ भने बाढी पहिरो प्रभावित केही स्थानमा स्थगन भएको छ । पार्टीको नयाँ विधानबमोजिम गाउँ÷ नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।
एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दसौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।

खोटाङमा एमालेको ७८ वडा अधिवेशन टुंगियो, एकमा विवाद  

विवादका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा नेकपा एमालेको वडा अधिवेशन स्थगित भएको छ । अध्यक्ष पदका आकांक्षी प्रदीप राई र नारायण कार्कीले आ–आफ्नो दाबी नछाडेपछि एमाले राजापानीको वडा अधिवेशन हुन नसकेको हो । ९ कात्तिकमा हुने पालिका अधिवेशनपछि वडा कमिटीलाई टुंगो लगाउने तयारी गरिएको एमालेले जनाएको छ ।

प्रदीप निवर्तमान वडा कमिटी अध्यक्ष हुन् । यद्यपि, विवादका बीच नगर अधिवेशनमा सहभागी हुने पाँच जना प्रतिनिधि भने चुनिएका छन् । जिल्लाका ७९ वडामध्ये ७८ वडाको अधिवेशन सम्पन्न भइसक्दा राजापानीको अधिवेशन बाँकी रहेको नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए । 

विभिन्न कारणले ६ र ७ कात्तिकमा हुन नसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा र रावाबेँसी गाउँपालिका–६ हौंचुरको वडा अधिवेशन ८ कात्तिकमा सम्पन्न भएको छ । 

यस्तै हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको वडा अधिवेशन ८ कात्तिकमै टुंग्याइएको एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए । 

आसन्न १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिवेशनबाट जिल्लाका २ हजार ४४९ जना वडा स्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदैछन् । प्रतिवडा ३१ सदस्यीय वडा कमिटीमा वडा स्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिवसहित सदस्य चयन गरिरहेका छन् । 

आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १०औं महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  २१:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार