बाइडन–जोन्सन फोन वार्ता 

सम्बन्ध बलियो बनाउने बारे छलफल
आइतबार, माघ ११, २०७७

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच जलवायु परिवर्तनसमेतका जल्दाबल्दा मुद्दाको सम्बोधनका लागि दुई देशबीचको सम्बन्ध र सहयोगलाई अझ प्रगाढ बनाउने बारेमा सहमति भएको छ । 
बेलायती प्रधानमन्त्रीको कार्यालयका अनुसार दुई नेताबीच पहिलो पटक भएको कुराकानीमा यस्तो सहमति जुटेको हो । प्रधानमन्त्री जोन्सनले बाइडेनले अमेरिकी राष्ट्रपतिको पद सम्हालेकामा बधाई दिँदै दुबै देशबीचको प्रगाढ सम्बन्धलाई थप उचाइँमा पु¥याउन कुनै कसर बाँकी नराखिने बताएका थिए । बेलायती अखबारले बाइडेनले फोन सम्पर्क गरी जोन्सनसँग कुराकानी गरेका हुन् । बाइडेनले यसअघि क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकोका राष्ट्रपतिसँग कुराकानी गरेका थिए । यसअघि सन् २०१९ मा राष्ट्रपति बाइडेनले चुनावी प्रचारका क्रममा जोन्सनमाथि व्यंग्य गर्दै उनी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको छायाँको रुपमा रहेको बताएका थिए । 
फोनवार्तामा प्रधानमन्त्री जोन्सनले दुई देशबीचको व्यापार विषयमा उत्पन्न गतिरोध जतिसक्दो चाँडो समाधान हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री जोन्सनले जलवायु सम्बन्धी पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा अमेरिकाको पुनःप्रवेशका लागि बाइडेनले लिनुभएको निर्णय निकै सकारात्मक भन्दै प्रशंसा पनि गरे ।–एएफपी
 

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार