खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

आइतबार, माघ ११, २०७७

बेइजिङ । चीनको पूर्वीप्रान्तको एक सुनखानीमा सयौं मिटरभित्र फसेका ११ जना मजदूरलाई उद्धारकर्ताले आइतबार सकुशल बाहिर निकालेका छन् । यो खानीमा अझै ११ भित्रै फसेको अधिकारीले बताएका छन् । खानीभित्र विस्फोट भएपछि विगत दुई सातादेखि मजदूर खानीको सुरुङमा फसेका र उद्धारका लागि व्यापक प्रयास भइरहेको चिनियाँ केन्द्रीय प्रशारण संस्था सिसिटिभीले जनाएको छ । स्थानीय समयअनुसार आइतबार अपराह्न ३ बजेर १८ मिनेटमा अन्तिम पटक दुई जना मजदूरलाई बाहिर निकालिएको थियो । योसहित उद्धार गरिएकाको संख्या ११ पुगेको छ । हाल उद्धार अभियान सञ्चालनका लागि ६३३ जना उद्धारकर्मी र ४०७ वटा उपकरण फिल्डमा परिचालन गरिएको छ । खानीभित्र करिब ६०० मिटरको गहिराईमा ती मजदूर गत जनवरी १० मा फसेका थिए । यो खानीस्थल पूर्वीशाङदोङ प्रान्तको यान्ताईस्थित किझियामा रहेको छ । आइतबार अघिसम्म उद्धारकर्ताले खानीभित्र फसेका १० जना मजदूरसँग मात्र सम्पर्क स्थापना गर्न सफल भएका थिए । उद्धारकर्ताले खानीभित्र फसेका व्यक्तिका लागि ढुङ्गामा ड्रिल गरेर खाना, औषधि र अन्य सरसामानभित्र पठाएका थिए । खानीभित्र हराइरहेका अरु व्यक्तिको खोजी एवं पहिचान गर्नका लागि डिटेक्टर र पोषक तत्वहरु पनि पठाइएको छ ।  खानीको तल्लो भागमा पानीको सतह बढ्दै गएकाले जोखिम अरु बढ्ने अवस्था रहेको उद्धारकर्ताको भनाइ छ । खानीभित्र अलपत्र परेका नौ जनाको जीवन जोगाउन निकै मुश्किल देखिएको पनि उद्धारकर्ताले बताएका छन् । चीनमा खानी दुर्घटनाका घटना नियमित झैं देखिएका छन् । खानीमा सुरक्षा व्यवस्था कमजोर भएको र नियामक निकायले पनि बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । गत डिसेम्बरमा पनि चोङकिङको खानीमा सुरुङभित्र चेपिएर २३ जना मजदूरको ज्यान गएको थियो । – एएफपी÷सिन्ह्वा

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १६:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार