सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : नेकपा एमालेले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । च्यासलमा बसेको स्थायी कमिटी बैठकले आगामी १२ कात्तिकमा केन्द्रीय समिति बोलाउने निर्णय गरेको हो ।
राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न र अन्य आवश्यक निर्णय गर्नका लागि केन्द्रीय कमिटी बैठक १२ कात्तिकमा बस्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस अगाडि ११ कात्तिकमा स्थायी कमिटी बस्नेछ ।
आजको बैठकले केन्द्रीय कमिटीअगावै १०बुँदे सहमति कार्यान्वयन गरिसक्ने निर्णय पनि गरेको छ । 'बैठकले १० बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा आमरूपमा सबै ठाउँमा कार्यान्वयन हुँदै गएको र समस्या रहेको एकाध ठाउँमा केन्द्रीय कमिटी बैठकसम्म टुंग्याइसक्ने र यसका लागि सम्बन्धित नेतालाई निर्देशन गरेको छ', प्रवक्ता ज्ञवालीले भने ।
ज्ञवालीले १२ कात्तिकसम्म १० बुँदे कार्यान्वयन भइसक्ने भने पनि कार्यदलका संयोजक भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नहुने भनेको भन्दै संयोजकबाट राजीनामा दिइसकेका छन् ।
एमालेले थप्यो दुई केन्द्रीय सदस्य, भीम रावलको असहमति
नेकपा एमालेले केन्द्रीय समितिमा दुई जना मनोनीत गरेको छ । च्यासलमा सम्पन्न स्थायी समिति बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहमद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यो निर्णयमा १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले असहमति जनाएका छन् । विधि-पद्धति भन्दा पनि प्रभु साहले भनेको भनेर मनोनीत गरिएकामा उनले अहसमति जनाएका हुन् ।
यो निर्णय १० बुँदेको विपरीत भएको उनको भनाइ छ । 'कुनै छलफल नगरी, विधि-पद्धतिबिना दुई जना राख्ने कुरामा मेरो असहमति छ', उनले भने ।
१० बुँदे कार्यदलको संयोजकबाट राजीनामा दिने भीम रावलको घोषणा
नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् ।
केन्द्रीय कमिटीले निर्णय गरेर अन्तरपार्टी निर्देशनबाटै जारी भएको १० बुँदे सहमति कार्यान्वयन नभएकामा असन्तुष्टि जनाउँदै रावलले राजीनामा दिएका हुन् ।
'यो मेरो व्यक्तिगत कुरा होइन । अपानिबाट जारी भएको कुरा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने कुरा हो । र, त्यसको कार्यान्वयन नगर्ने तर्क आएको हुनाले म त्यसप्रति सहमत हुन सकिनँ', उनले भने ।
रावलले थपे, 'एकातिर भीम रावललाई कार्यदल संयोजकको जिम्मा छ कार्यान्वयन गरे भइहाल्यो भन्ने, अर्कोतिर पार्टीमा भएका छलफल र केन्द्रीय कमिटीले गरेको निर्णय मान्ने नभएपछि त्यो कार्यदलमा बसिरहनुको कुनै औचित्य नभएको हुनाले त्यसबाट राजीनामा दिने बैठकमा घोषणा गरेको छु र लिखित रूपमा भोलि अध्यक्षलाई पठाउने जानकारी गराएको छु ।'