सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : नेकपा एमालेले पार्टीको १०औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । यसअघि विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । तर, बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिरमा तय महाधिवेशनको स्थान चितवन तोकेको हो ।
स्थायी कमिटी सदस्य विष्णु रिमालले आजको स्थायी कमिटी बैठकबाट महाधिवेशन मूल व्यवस्थापन सिमिति ३१ सदस्यीय बनाइएको जानकारी पनि दिएका छन् । एमाले महाधिवेशन १०-१२ मंसिरमा हुँदै छ ।
महाधिवेशन गर्न बादलको नेतृत्वमा मूल व्यवस्थापन कमिटी
चितवनमा १०औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको नेकपा एमालेले यसको व्यवस्थापनको जिम्मा पूर्वमाओवादी नेता रामबहादुर थापा 'बादल'लाई दिएको छ ।
प्रथम विधान महाधिवेशनमा बुटवल प्रस्ताव गरेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्यासलमा स्थायी कमिटी बैठक राखेर चितवनमा पार्टीको महाधिवेशन गर्ने निर्णय गराएका छन् ।
पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिगामी र प्रतिक्रियावादी भन्दै केपी ओली प्रवृत्ति परास्त गर्नुपर्ने तथा एमाले अध्यक्ष ओलीले 'माओवादी सकियो, एक्लै चुनाव लड्ने हिम्मत छैन' भनेर राजनीतिक जुहारी चलिरहेका बेला एमालेले प्रचण्डको निर्वाचन क्षेत्र भएको चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ । साथै महाधिवेशनको व्यवस्थापन गर्ने जिम्मा पूर्वमाओवादी नेता र हाल एमाले स्थायी कमिटी सदस्य बादललाई दिएको छ ।
बादलको नेतृत्वमा एमालेले २१ सदस्यीय १०औं महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ । जसमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, विष्णु रिमाल, डा राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल सदस्य छन् ।
त्यसैगरी सातवटै प्रदेशबाट एक/एक जना प्रतिनिधि र सम्पर्क समन्वय कमिटीबाट एक जना प्रतिनिधि रहने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनकाअनुसार बैठकले प्रथम विधान महाधिवेशनको समीक्षा गर्दै सफल रहेको निष्कर्ष निकालेको छ । 'महाधिवेशनबाट विचार र नीतिमा सर्वसम्मति कायम भएको छ । पार्टीमा भावनात्मक एकता र ठूलो सन्देश दिएको छ । नयाँ उर्जा प्रदान गरेको छ,' ज्ञवालीले भने ।
बैठकले अविरल वर्षापछिको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेको छ । मर्कामा परेका किसानहरुलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । घरबार गुमाएका लागि पुनर्स्थापना र पुनर्निर्माणको माग गरेको छ । मौसम पूर्वानुमान प्रभावकारी र यसको जानकारी किसानसम्म पुग्ने व्यवस्था मिलाउन माग गरेको छ ।
राहत र उद्धारमा स्थानीय प्रशासनसँग समन्वय गरेर खटिन जनप्रतिनिधिलाई आह्वान पनि गरेको छ ।
बैठकले सामाजिक संस्थामा सरकारले नांगो हस्तक्षेप गरेको आरोप लगाएको छ । रेडक्रस र एनआरएनमाथि नांगो राजनीतिकरणप्रति निन्दा गर्दै यस्ता प्रकारका गतिविधि बन्द गर्नसमेत बैठकले माग गरेको छ । प्रवक्ता ज्ञवालीले बैठक भोलि दिउँसो २ बजे फेरि बस्ने बताए ।
१०बुँदे कार्यदलले भोलि स्थायी कमिटीमा सुझाव प्रस्तुत गर्ने, ९७ प्रतिशत कार्यान्वयन भएको दाबी
नेकपा एमालेले १० बुँदे सहमति ९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको दाबी गरेको छ । १० बुँदेलाई पार्टीभित्र १० भाइ असन्तुष्ट रहेका खबरहरु आइरहेका बेला प्रवक्ता ज्ञवालीले ९७ प्रतिशतभन्दा बडी कार्यान्वयन भएको बताए ।
पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै केही ठाउँमा देखिएको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेको बताए ।
'आज १० बुँदे कार्यान्वयनको सिलसिलामा सहजीकरण गर्न बनेको कार्यदलको बैठक पनि बसेको थियो । त्यो कार्यदलले सुझावहरु भोलि स्थायी कमिटीमा प्रस्तुत गर्नेछ । धेरै कमिटी २ जेठमा फर्किसके । केही फर्किँदै छन् । पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई पनि समेटेर पार्टी गइसकेको छ । स्थानीय अन्तरविरोध हुनसक्छन् । त्यहाँ छलफल गरेर टुंग्याउँछौं । अधिकांश ठाउँमा कार्यान्वयन भइसकेको छ । बाँकी ठाउँमा पनि कार्यान्वयन गर्छौं,' उनले भने ।
ज्ञवालीले १० बुँदे प्रस्ताव सिंगो पार्टीको प्रस्ताव भएको अपनत्व लिएर कार्यान्वयनमा गएको उल्लेख गरे । '९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको छ । केही ठाउँमा भएको छैन । कार्यदलले सुझाव दिन्छ । भोलि छलफल हुन्छ । स्थायी कमिटीबाट थप निर्णय हुन्छ ।'
ज्ञवालीले पार्टीको वडा र स्थानीय तहको निर्वाचन आमरुपमा तोकिएकै मिति ६ कात्तिक र ९ कात्तिकमै अधिवेशन हुने बताए । 'तर जहाँ बाढी पहिरो डुबानले प्राकृतिक विपत्तिले गम्भीर असर पारेको छ त्यहाँ केही दिन पर सार्ने निर्णय भएको छ । तर कात्तिकभरिमा हामी सबै वडा र तहमा अधिवेशन गरिसक्छौं,' उनले भने ।