सोसल मिडिया
Contact Us
युनिकोड
ढाका । चीनले छिमेकी राष्ट्र बङ्लादेशलाई कोरोनाभाइरस विरुद्धको खोप फेरि उपलब्ध गराएको छ । चीनमा बनाइएको सिनोभ्याक खोप चीनले उपलब्ध गराएको बङ्लादेशका उच्च अधिकारीहरूले जानकारी गराएका हुन् । “चिनियाँ सरकारले बङ्लादेश सरकारलाई अहिले पाँचौँ चरणको खोप उपहार प्रदान गरेको छ, उसले पठाएको खोप मङ्गलबार बङ्लादेशको राजधानी ढाका आइपुगेको छ,” एक अधिकारीले भने । बङ्लादेशस्थित चिनियाँ दूतावासले पनि आफ्नो देशबाट बङ्लादेशका लागि पाँचौँ चरणको खोप आएको पुष्टि गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत दूतावासले सिनोभ्याक लाइफ साइन्स कर्पोरेसन लिमिटेडद्वारा उत्पादित खोप उपलब्ध गराइएको जनाएको छ । चीनले बङ्लादेशलाई यसअघि गत मे, जुन र अगस्टमा सिनोफर्म खोप उपलब्ध गराएको थियो । छिमेकी देशहरूलाई कोरोनाभाइरस विरुद्ध लड्न उच्च प्राथमिकताका साथ सहयोग गर्ने चिनियाँ रणनीतिअनुसार चीनले बङ्लादेशलाई खोप उपलब्ध गराउँदै आएको हो ।–सिन्ह्वा