बेलायतमा सङ्क्रमणबाट मृत्यु दर बढ्न थाल्यो, सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउन सुझाव 

बुधबार, कात्तिक ३, २०७८

लन्डन । बेलायतमा पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएसँगै मृत्यु हुनेको सङ्ख्यामा बृद्धि भएको छ । यहाँ गएको २४ घन्टामा कम्तीमा पनि २२३ जनाको ज्यान गएको छ । यो मृत्यु यसै वर्षको गत मार्च ९ पछिकै सबैभन्दा धेरै हो । सात महिनाअघि त्यस दिन यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा २३१ जनाको ज्यान गएको थियो । 
उता यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन् । मंगलबार यहाँका सङ्क्रमित करिब ५० हजार जनाको नजिक पुगेको थियो । बेलायतका अधिकारीले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् । यहाँका स्वास्थ्य अधिकारीले सामाजिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन माग गरेका छन् । 
बेलायतका स्वास्थ्य वैज्ञानिकले पनि यो सुझाव दिएका छन् । उनीहरुले यहाँ हरेक दिन करिब ५० हजार जना सङ्क्रमित भेटिनु र मृत्यु दर हरेक दिन २०० भन्दा माथि हुनुलाई गम्भीर भन्दै यहाँका सामाजिक क्रियाकलापमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् ।   
यहाँ गएको २४ घन्टायता करिब ४४ हजार जना सङ्क्रमित भएका छन् । यो समेत गरी यहाँ सङ्क्रमित हुनेको सङ्ख्या ८५ लाख पुगेको छ । महिनौँपछि यहाँ ठूलो सङ्ख्याका सङ्क्रमित पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गरेका छन् । यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको बताएका छन् । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।–रासस 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  २१:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार