सोसल मिडिया
Contact Us
युनिकोड
उलानाबातारा । मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् । एक सुत्केरी र उनको शिशुको उपचारमा लापर्वाही भएको भन्दै आन्दोलन भएपछि उनले बिहीबार राजीनामा दिएका हुन् । उनको राजीनामा बिहीबार बेलुका नै संसद्ले पारित गरेको छ । संसदमा रहेका ७६ सांसद मध्ये ९५ प्रतिशतले उनको राजीनामाको पक्षमा मतदान गरेका थिए । कोरोनाभाइरस आफ्नो देशमा भित्रिन नदिन मङ्गोलियाले गत बर्षदेखि नै नाकाबन्दीलगायतका उच्च सतर्कताका उपायहरू अपनाएको थियो । त्यसबीचमा पनि गत नोभेम्बरमा पहिलो आन्तरिक सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि फेरि प्रतिवन्धात्मक व्यवस्थाहरूलाई थप कडा बनाइएको थियो । कडाइ गर्दा गर्दै पनि एउटा अस्पतालमा नवजात शिशुलाई भर्खरै जन्माएकी महिला र ती शिशुसँग कोरोनाभाइरसबाट सङ्क्रमितलाई राखेको भिडियो सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो । विरोधसँगै आन्दोलन भएपछि गल्ती भएको भन्दै सरकारको तर्फबाट प्रहरी अधिकारीहरूले माफी माग्दा पनि आन्दोलन झन झन चर्किदै गएको थियो । आन्दोलनकारीहरूले सरकारी कार्यालयहरू अगाडि विरोध प्रदर्शन गरेका थिए । सरकारी अधिकारीहरूले गम्भीर कमी कमजोरी र लापर्वाही गरेको आन्दोलनकारीहरूको आरोप छ । आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री उख्नाले पनि दुःख व्यक्त गर्दै क्षमा याचना गरेका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री भएकाले यो घटनाको जिम्मेबारी मैले लिन्छु ।’ ‘दुर्भाग्यवस ती आमा र शिशुलाई व्यवस्थापनमा केही कमजोरी भएकै हो, त्यो दृश्य हृदयविधारक नै छ, त्यसमा सरकारको तर्फबाट गल्ती महसुस गर्दै क्षमा याचना गर्न चाहन्छौँ’ उनले भने । उनका विरुद्धमा बुधबार पाँच हजार युवा प्रदर्शनकारीहरूले राजधानीमा प्रदर्शन गरेका थिए । उनीहरूले प्रदर्शन गरेको व्यानरमा प्रधानमन्त्रीको राजीनामा पनि मागिएको थियो । राष्ट्रिय विपद् आयोगको नेतृत्व गर्नु भएका उपप्रधानमन्त्री र विभागिय जिम्मेबारीमा रहेका स्वास्थ्य मन्त्रीले भने प्रत्यक्ष जिम्मेबारी भएकाले आन्दोलनकारीको दवावकै कारण यसअघिनै राजीनामा दिइसकेका छन् । त्यसैगरी लापर्वाही भएको अस्पतालका प्रमुखलगायत अस्पतालका अन्य जिम्मेबार व्यक्तिहरूले पनि राजीनामा दिएका छन् । झण्डै एक दशक लामो कम्युनिष्ट नेताहरूको शासनपछि सङ्क्रमणमा फसेको मध्य एसियाली लोकतान्त्रीक मुलुक मंगोलियामा नयाँ संविधान जारी भएपछि पनि राजनीतिक स्थायीत्व हुन सकेको छैन ।–एएफपी