सोसल मिडिया
Contact Us
युनिकोड
तम्घास । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको बताएकी छन् । गुल्मी सदरमुकाम तम्घासमा आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले जनतालाई धोका दिएर केही नेताहरू एमालेको घरमा दास बन्दै गरेको आरोप लगाइन् । संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिए पनि केपी ओलीले संविधानलाई नै मिचेको उनको आरोप थियो । एउटा व्यक्तिको सनकको भरमा पटक–पटक संसद् विघटन गर्ने प्रथाको आफूहरूले विरोध गरेको उनको भनाइ थियो । यसो गर्दा ओलीको नजरमा आफूहरू नराम्रो भएकाले त्यहाँबाट निस्केर छुट्टै कम्युनिष्ट पार्टी स्थापना गरेको उनले बताए । अहिलेको कम्युनिष्ट पार्टीमा सबै अट्नसक्ने उनको जिकिर थियो । आफूहरूले लगातार निर्वाचन जिते पनि उपलब्धि धेरै नभएकाले अब परिणाम देखिने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । फरक प्रसङ्गमा नेत्री झाँक्रीले आफूहरूले पार्टी निर्माणको तीनमहिने अभियान चलाउने जानकारी दिए । तीन महिनासम्म देशभरबाट कम्तीमा सात लाख सङ्गठित सदस्य बनाउने उनको दाबी थियो । प्रत्येक सङ्गठित सदस्यले निर्वाचनमा परिवारको मात्रै पनि चार भोट ल्याएमात्रै देशभरबाट नेकपा (एकीकृत समाजवादी)को पक्षमा कम्तीमा २८ लाख भोट पार्टीलाई प्राप्त हुने र त्यसपछि नेकपा एमाले बिलाएर जाने उनले बताए । प्रत्येक सङ्गठित सदस्यले एक दिन पार्टीका लागि काम गर्ने र बाँकी छ दिन आफ्नो लागि काम गर्ने गरी योजना पार्टीले बनाएको उल्लेख गर्दै उहाँले पार्टीको हरेक कमिटीमा कम्तीमा ५० प्रतिशत महिला र ४० प्रतिशत ३० वर्षमुनिका युवालाई समावेश गरिने बताए ।
जनभावनाअनुसार काम गर्नेछु : मन्त्री झाँक्री सहरी विकासमन्त्री झाँक्रीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीका साथ निभाउन प्रयास गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले संविधानको रक्षा गर्दै जनताको भावना र चाहनाअनुसार जिम्मेवारीपूर्वक काम गरेर देखाउने बताइन् । वर्तमान सरकारले देशमा भइरहेको भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्ने उनको भनाइ थियो । अध्यायदेशबाट आएको बजेटलाई नै परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याएको उल्लेख गर्दै मन्त्री झाँक्रीले स्थानीय सरकारसँग समन्वय गरेर मन्त्रालयको कामलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाइन् । नेकपा (एकीकृत समाजवादी) की नेत्रीसमेत रहनुभएकी मन्त्री झाँक्रीले युवाहरूको सहभागितामा देशैभरि पार्टी विस्तारको अभियान चलिरहेको जानकारी दिँदै अघि बढ्नकै लागि राजनीतिक गठबन्धन भइहेको र पार्टी–पार्टीबीचको गठबन्धनले निरन्तरता पाइरहने बताइन् । आफू तीन दिन मात्रै मन्त्रालय गएको र मन्त्रालयका विषयमा थप जानकारी लिन नपाएको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक अवसर गुमाएको बताउँदै आफ्नै बहुमतको सरकार हुँदासमेत ओलीले सुशासनभन्दा कुशासन दिने काम गरेको मन्त्री झाँक्रीले आरोप लगाइन् ।–रासस