स्थानीय तहको अधिवेशनमा जुट्यो एमाले

सोमबार, कात्तिक १, २०७८

काठमाडौँ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यसै साता देशभरिका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्दैछ । एमालेको असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनको तयारीसहित स्थानीय तहमा हुने अधिवेशनमा कायम हुने पदाधिकारी सङ्ख्या निर्धारण गरेको छ । एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पारित विधान प्रकाशन भई चाँडै तल्ला कमिटीमा पठाइने र सोहीबमोजिम अधिवेशन हुने बताए ।  एमालेको यही कात्तिक ६ गते देशैभरिका छ हजार ७४५ वडा र कात्तिक ९ गते ७५३ स्थानीय तहमा अधिवेशन भई नयाँ नेतृत्व चयन हुने एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहनेछन् । गाउँ÷नगरपालिका– ७५, उपमहानगरपालिका– ८५, महानगरपालिका– १०१ सदस्य चुनिनेछन् ।
एमालेले राष्ट्रिय महाधिवेशनपूर्व असोजभित्र सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशनको कार्यतालिका बनाएको थियो । सो पार्टीले २०७५ साल जेठ २ गतेको सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ । एमालेले आन्तरिक एकताका लागि भएको सहमतिबमोजिम १० बुँदे प्रस्तावलाई कार्यान्वयनका लागि उपाध्यक्ष डा भीम रावलको नेतृत्वको कार्यदल गठन गरेको छ ।

समाजवाद’ मुखपत्र र ‘कलम’ बुलेटिन प्रकाशन हुने

यता एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) ले  ‘समाजवाद’ नामक पार्टीको मुखपत्र प्रकाशन गर्ने भएको छ । त्यसैगरी सो पार्टीले ‘कलम’ नामको बुलेटिन पनि प्रकाशन गर्ने भएको जानकारी दिइएको छ । समाजवादको दार्शनिक चिन्तन, पार्टीको वैचारिक दृष्टिकोण, विज्ञका लेख तथा रचनालगायत विषयवस्तु समावेश गरी त्रैमासिकरुपमा मुखपत्र प्रकाशनका लागि तयारी भइरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यही कात्तिक १३ गते बुलेटिन प्रकाशन गर्ने गरी गृहकार्य भइरहेको छ । सत्यतथ्य सूचनामा आधारित बुलेटिनमा पार्टीका विभिन्न वर्गीय सङ्गठनका स्थानीय तह, प्रदेश तथा सङ्घीय गतिविधिलाई समेटिने बताइएको छ । 

यहाँ आज आयोजित छलफल कार्यक्रममा सहभागीले ती प्रकाशनलाई व्यवस्थितरुपमा प्रकाशन गर्न देशभर समाचार सङ्कलनको संयन्त्र प्रभावकारी बनाउन, भाषा, साहित्यलाई महत्व दिन र सम्पादनका क्षेत्रमा दक्ष जनशक्तिलाई जिम्मेवारी दिन सुझाव दिएका थिए । यही कात्तिकको तेस्रो सातासम्म पार्टी निकट समाजवादी प्रेस सङ्गठनको भेला गरी घोषणासभा गरिने समाजवादी प्रेस सङ्गठनका सदस्य विश्वमणि सुवेदीले जानकारी दिए । सो सङ्गठनका संयोजक शम्भु श्रेष्ठलाई पार्टीले हालै प्रचार विभागको उपप्रमुख तोकेको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १५:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार