बाइडनलाई विश्वका नेताबाट बधार्ई

बिहीबार, माघ ८, २०७७

पेरिस । संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडनलाई विश्वका नेताले बधार्ई दिएका छन् । चार वर्षदेखि डोनाल्ड ट्रम्प प्रशासनका उतारचढाब झेलेका देशका नेताले डेमोक्रेटिक पार्टीबाट निर्वाचित बाइडनले सुझबुझपूर्ण व्यवहार गर्ने विश्वास लिएका छन् । 
युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिकेलले राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई ट्वीटमार्फत बधाई दिँदै भनेका छन्, ‘युरोपेली युनियन र अमेरिकाबीचको  सम्बन्ध थप प्रगाढ हुनेछ ।’ 
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लियेनले भनेका छन्, ‘नयाँ बिहानी, नयाँ शुरुआतका लागि युरोप तयार छ ।’
इरानका राष्ट्रपति हस्सन रुहानीले पनि ट्रम्पको पलायनबाट आफू खुशी भएको बताएका छन् । उनले आणविक विषयलाई लिएर इरानमाथि ट्रम्पको कार्यकालमा लगाइएका आर्थिक नाकाबन्दी फुकुवा हुने विश्वास व्यक्त गरेका छन् । 
उनले भने, ‘बाइडन प्रशासनले गत चार वर्षमा इरानमाथि गरिएका अपराधलाई हटाउन मद्दत गर्ने विश्वास लिएका छौँ । इरानसँग भएको आणविक सम्झौतामा अमेरिका पुनःफर्किने हामीले आशा गरेका छौँ ।’
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दुई देशबीच लामो समयदेखि जारी मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन राष्ट्रपति बाइडनसमक्ष आग्रह गरेका छन् । उनले भिडियो सन्देशमार्फत भनेका छन्, ‘अमेरिका–इजरायल सम्बन्धलाई थप गति प्रदान गर्न आफ्नो मुलुक तयार छ । इजरायल र अरब मुलुकबीच शान्ति कायम गर्ने प्रयास थप विस्तार हुने तथा इरानका तर्फबाट उत्पन्न त्रासलाई साम्य बनाउने चुनौतीलाई मिलेर सामना गर्न इजरायल प्रतिक्षारत छ ।’
नेटोका महासचिव जेन्स स्टोल्टेन्बर्गले उत्तर अमेरिका र युरोपबीचको मित्रता हाम्रो सुरक्षाको आधार हो, र बलियो नेटो युरोप र अमेरिका दुबैका लागि हितकर रहेको छ भनेका छन् । 
उनले नेटोका गठबन्धन मुलुकले चीनको तीव्र विकास, अफगानिस्तान र इराकसमेतमा आतङ्कवादको चुनौती तथा रसियाका गतिविधिमाथि विचार गर्न मिलेर जानुको विकल्प नरहेको बताए । 
पोप फ्रान्सिसले राष्ट्रपति बाइडेनलाई विश्वभर ‘भाइचारा र शान्ति’लाई प्रवद्र्धन गर्न आग्रह गरेका छन् । 
रसियाली राष्ट्रपतिको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले संयुक्तराज्य अमेरिकासँग साँचो अर्थमा मित्रवत् सम्बन्ध स्थापना गर्न रसिया तयार रहेको बताएका छन् । रसियाली विदेश मन्त्रालयले जारी गरेको अर्को विज्ञप्तिमा हतियार नियन्त्रणसम्बन्धी आगामी वार्तामा बढी नै रचनात्मक पहल अमेरिकी नेतृत्वबाट प्रस्तुत हुने जनाएको छ । 
जर्मनीकी चान्सलर एञ्गेला मर्केलले जर्मन–अमेरिकी मित्रता र सहयोगमा नयाँ अध्याय शुरु हुने अपेक्षा गरिएको भन्दै बाइडनको कार्यकाल सफल हुने विश्वास व्यक्त गरेकी छन् । 
फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले ट्वीट गर्दै भनेका छन्, ‘अमेरिकी जनताका लागि यो विशेष अवसरका लागि बधाई र उत्तरोत्तर प्रगतिको कामना ।’
उनले भने, ‘हामी सँगै, साथमा छौँ । हाम्रो समयका चुनौतीको सामना गर्न हामी अझ बलियो हुनेछौं । हाम्रो पृथ्वीको रक्षा गर्न अझ बलियो हुनु पर्नेछ । पेरिस सम्झौतामा पुनःस्वागत छ ।’
डोनाल्ड ट्रम्पसँग निकै हिमचिम रहेको भनी आलोचित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि बाइडेनसँग निकट सम्बन्ध राखेर कार्य गर्न चाहेको बताएका छन् । 
उनले भनेका छन् , ‘कोभिड विरुद्धको सङ्घर्ष, जलवायू, प्रतिरक्षा, सुरक्षा हाम्रा साझा मुद्दा हुन् । विश्वमा प्रजातन्त्रको प्रवद्र्धन र रक्षा गर्नु हामी दुबै मुलुकको लक्ष्य नै हो ।’
क्यानडाका प्रधानमन्त्री जस्टिन त्रुदोले पनि कोरोनाभाइरस, जलवायू परिवर्तन र आर्थिक पुनरुत्थानजस्ता मुद्दामा राष्ट्रपति बाइडेनसँग मिलेर कार्य गर्न आफू तयार रहेको बताएका छन् ।    
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन्, ‘संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिको शपथ लिनुभएकामा आफ्नातर्फबाट बाइडनलाई न्यानो बधार्ई । भारत–अमेरिका रणनीतिक सम्बन्धलाई थप बलियो बनाउन म तयार छु ।’
जापानका प्रधानमन्त्री योशिहिदे सुगा र दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले पनि राष्ट्रपति बाइडनलाई कार्यकाल सफलताको बधार्ई दिँदै आ–आफ्ना मुलुकसँग अमेरिकाले पुरानो मित्रता यथावत रहने र थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । 
कुवेत, कतार, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताले पनि बाइडनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधार्ई सन्देशहरु पठाएका छन् । 
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि बाइडेनसँग मिलेर कार्य गर्न आफू अधैर्यपूर्वक प्रतिक्षा गरिरहेको बताउनु भएको छ ।–एएफपी
 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १८:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार