दिल्लीमा खोप नलगाएका कर्मचारीले कार्यालयमा प्रवेश नपाउने

शुक्रबार, असोज २२, २०७८

नयाँ दिल्ली । दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले सबै सरकारी कर्मचारीहरूले कोभिड–१९ को खोप नलगाए कार्यालय प्रवेश नपाउने बताएको छ । सङ्घीय सरकारद्वारा खोप लगाउन निर्धारित दिशानिर्देशमा अक्टोबर १५ सम्म कोभिड–१९ खोपको कम्तीमा पहिलो मात्रा लिन आदेश जारी गरेको थियो ।
डीडीएमएद्वारा जारी वक्तव्यमा लेखिएको छ, “विभिन्न विभागमा कार्यरत सबै सरकारी कर्मचारीले कात्तिक १५ गतेसम्म कोभिड–१९ खोपको कम्तीमा पहिलो मात्रा खोप लगाउनु पर्नेछ । सरकारले तोकेको खोप निर्देशिकानुसार कात्तिक १५ गतेसम्म खोप लगाउनुपर्नेछ । ‘यदि सरकारी कर्मचारीहरूलाई अक्टोबर १५ सम्ममा कोभिड–१९ खोपको कम्तीमा पनि पहिलो मात्रा दिइएको छैन भने अक्टोबर १६ देखि उनीहरूलाई आ–आफ्नो कार्यालयमा उपस्थित हुन अनुमति दिइने छैन’ वक्तब्यमा भनिएको छ । यसैबीच, भारतको सङ्घीय राजधानीसमेत रहेको दिल्ली राज्यमा अहिलेसम्म एक करोड ८७ लाख मानिसलाई कोभिड–१९ खोप लगाइएको राज्य सरकारले जनाएको छ ।

भारतमा थपिए २१ हजार कोरोना सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप २१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा थप २१ हजार २५७ जना सङ्क्रमित भएका हुन् । 
केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ४० हजार २२१ जना रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 
यो सङ््ख्या २०५ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि कम हुँदै गएको हो ।

पाकिस्तानमा कोरोना सङ्क्रमितको दैनिक सङ्ख्या घट्यो 

पाकिस्तानमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक हजारभन्दा कम भएको शुक्रबार जनाइएको छ । कोरोनाका  दैनिक सङ्क्रमित एक हजारभन्दा कम भएको तीन महिनाभन्दा बढी समययता यो पहिलो पटक हो । 
यहाँ बिहीबार थप ९१२ जनामा कोरोना सङ्क्रमण देखिएको सरकारी स्रोतले जानकारी दिएको छ । पाकिस्तानमा गत जुलाई ५ मा ८३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । पाकिस्तानमा हालसम्म १२ लाख ५६ हजार २३३ जनालाई कोरोना सङ्क्रण भइसकेको छ । कूल सङ्क्रमितमध्ये ११ लाख ८४ हजार ५२७ जना निको भएका छन् ।  हाल यहाँ ४३ हजार ६४८ जना सक्रिय सङ्क्रमित रहेका र तीमध्ये दुई हजार ७६१ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । कोरोना सङ्क्रमणको कारण बिहीबार पाकिस्तानमा २६ जनाको मृत्यु भएको थियो । यसैसँगै यहाँ कोरानाबाट २८ हजार ५८ व्यक्तिको मृत्यु भएको छ । 
पाकिस्तानको दक्षिण प्रान्त सिन्ध कोरोनाबाट अत्यन्त प्रभावित हो । यहाँ अहिलेसम्म चार लाख ६२ हजार १५५ व्यक्ति कोरोना प्रभावित भएका छन् । यसपछि दोस्रो प्रभावित राज्यका रुपमा पञ्जाव प्रान्त रहेको छ । यहाँ चार लाख ३५ हजार चार जनालाई कोरोना सङ्क्रमण भएको छ ।–एएनआई
 

 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  २२:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार