सुडानमा कू प्रयासको सुरक्षा परिषद् सदस्यद्वारा निन्दा 

बिहीबार, असोज ७, २०७८

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले सुडानमा कूको प्रयासको कडा शब्दमा निन्दा गरेको छ । प्रेस वक्तव्य जारी गर्दै सुरक्षा परिषद्का सदस्यले प्रधानमन्त्री अब्दल्लाह हमदोकको पक्षमा समर्थन व्यक्त गर्दै सुडानमा जारी सङ्क्रमणको अन्त्य गर्दै एक समावेशी, शान्तिपूर्ण, सन्तुलितरूपले जनताको आशा र आकांक्षा प्राप्त गर्ने प्रयासमा आफू सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । 
परिषद्का सदस्य राष्ट्र सम्बन्धित पक्षलाई ’राष्ट्रिय सङ्कट र सङ्क्रमणको विषय’लाई गम्भीररूपले बुझ्न र सोही अनुरूप अगाडि बढ्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “सुडानमा जनता र सैनिक पक्षले सहमति, सहकार्यका साथ संविधान र जुबा शान्ति सम्झौताको मर्म अनुरूप अगाडि बढ्न र देशको सङ्क्रमणलाई  पार लगाउन आग्रह गर्दछौँ ।” 
त्यसैगरी परिषद्का सदस्य राष्ट्रले सुडानी जनता र देशका पक्षमा ऐक्यबद्धता व्यक्त गर्दै सङ्क्रमणको यस चरणमा सुडानको  सम्प्रभुता,  स्वतन्त्रता,  भौगोलिक अखण्डता, राष्ट्रिय एकताको पक्षमा प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले उक्त घटनाको यस अघि निन्दा गरिसकेका थिए ।

सत्ता हत्याउने प्रयासको दक्षिण सुडनाद्वारा निन्दा 

दक्षिण सुडानले सुडानमा हालै भएको सत्ता हत्याउने प्रयासको निन्दा गरेको छ । सो प्रयासलाई दक्षिण सुडानले प्रजातान्त्रिक प्रक्रियामाथिको हमला भनेको छ । 
अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकोले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान प्रयास गर्नुको सट्टा राजनीतिक ‘कू’को प्रयास गर्नु निन्दनीय भएको दक्षिण सुडानको विदेश मन्त्रालयले जनाएको छ । 
सुडान अहिले राजनीतिक सङ्क्रमणकालको चरणमा रहेकाले यहाँका राजनीतिक दलले यसअघि गरेका प्रतिबद्धताअनुसार प्रजातान्त्र सुदृढ गर्न लाग्नुपर्ने सो मन्त्रालयले जनाएको छ । 
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले पनि सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गर्नुभएको थियो ।–सिन्ह्वा  
 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार