थपिए एक हजार २३९ कोरोना सङ्क्रमित

बिहीबार, असोज ७, २०७८

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २३९ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार २४३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत छ । योसँगै हाल देशभर सक्रिय सङ्क्रमित २० हजार ७४३ जना छन् । त्यस्तै ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० छन् । अहिले ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही छन् ।  पछिल्लो २४ घण्टामा एक हजार ३२४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ५६ हजार ९५४ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६ प्रतिशत छ ।  सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ७२ जनाको निधन भइसकेको छ । हाल देशभर ३४० सघन उपचार कक्ष, १११ भेन्टिलेटर, १९ हजार ४३७ होमआइशोलेसन, एक हजार ३३४ संस्थागत आइशोलेसन र २४६ जना क्वारेन्टिनमा छन् । आज एक लाख ३८ हजार ३८५ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ६२ लाख ९३ हजार ८९ र पूर्ण मात्रा ५८ लाख ६० हजार ९२९ जनाले लगाइसकेका छन् ।
 

दाङमा ४५ वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ । यही असोज ८, ९ र १० गते दशवटै स्थानीय तहमा ३० हजार ८२१ जनालाई भेरोसेल खोप लगाइने भएको छ । 
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घोराही, लमही, राप्ती, गढवा, बङ्गलाचुली र राजपुरमा असोज ८ र ९ गते खोप लगाइने छ । यस्तै तुलसीपुर, शान्तिनगर, बबई र दङ्गीशरणमा यही असोज ९ र १० गते खोप लगाउने निर्णय भएको कार्यालय प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए । घोराहीमा आठ हजार ८८१, तुलसीपुरमा सात हजार ९८८, लमहीमा दुई हजार ६८७, बङ्गलाचुलीमा एक हजार ३२३, बबईमा एक हजार ५११, दङ्गीशरणमा एक हजार १९७, गढवामा दुई हजार १५८, राजपुरमा एक हजार ३८२, राप्तीमा दुई हजार २८८ तथा शान्तिनगरमा एक हजार ४०६ जनालाई खोप लगाइने उनले बताए । 

“पैँतालिस ४५ वर्षमाथिका र कक्षा १२ को परीक्षार्थीलाई खोप लगाइने छ”, शाहीले भने । आगामी कात्तिक ५ र ६ गते कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउने जिल्ला कोरोना खोप समन्वय समिति तथा अनुगमन समितिले निर्णय गरेको छ । 
जिल्लामा हालसम्म एक लाख ३० हजार नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोभिसिल्ड र एष्ट्राजेनेका ४० हजार ९२८, भेरोसेल ५५ हजार २४१ तथा जोन्सन एण्ड जोन्सन खोप ३४ हजार नागरिकलाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका श्रोतव्यक्ति कमल चन्दले जानकारी दिए । 
जिल्लामा गत वर्ष फागुनको अन्तिम सातादेखि सुरु भएको खोप अभियानअन्तर्गत विभिन्न चरणमा स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, कर्मचारी र जनप्रतिनिधिसहित ५० वर्षमाथि उमेर समूहकालाई खोप लगाइसकिएको छ । कक्षा १२ र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई समेत कोरोनाविरुद्धको खोप लगाइको छ । सो क्रममा छुटेका विद्यार्थीलाई खोप लगाइने कार्यालयले जनाएको छ । 


 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १७:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार