विश्वकप क्रिकेट लिग–२ : नेपाल पाँच विकेटले विजयी

मंगलबार, भदौ २९, २०७८

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपाल अमेरिकासँग ५ विकेटले विजयी भएको छ । अमेरिकाले दिएको २३० रनको लक्ष नेपालले ४९ ओभरमा पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेतको ८४ रन तथा रोहित पौडेलको ६२ रनको योगदान महत्वपूर्ण रह्यो । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीच खेल भएको हो ।
नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले १७ रन, विनोद भण्डारीले ३७ रन बनाएका थिए । अमेरिकाले दिएको लक्ष्य नेपाले ६ बल बाँकी छँदै पूरा गरेको हो । नेपालले अमेरिकासँग खेल्नु अघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो । अमेरिकाले पनि नेपालसँग खेल्नुअघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । अमेरिकाले दुवै खेल जितेको थियो । यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा भएको थियो । नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गरेको थियो । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई) गरी सात राष्ट्रबीच खेल भइरहेको छ । सातै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
यसअघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । लिगमा नेपालले चार खेलमा चार अङ्क जोडेको छ । नेपाल छैटौँ स्थानमा छ । ओमान १६ अङ्क जोडेर शीर्ष स्थानमा  छ । बाह्र अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ । स्कटल्यान्ड नौ अङ्कका साथ तेस्रो, नामिबिया आठ अङ्कसहित चौथो, युएई सात अङ्क जोड्दै पाँचौँ तथा पपुवा न्युगिनी अङ्कविहीन रहँदै पुछारमा छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  ००:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार