सबै विद्यालय बन्द गर्न प्रशासनको निर्देशन

मंगलबार, साउन १९, २०७८

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए ।  यसबारेमा राससले सोमबार समाचार प्रकाशन गरेको थियो । प्रशासनको समन्वयमा सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उक्त बैठकमा प्याब्सन, एनप्याब्सन, व्यास नगरपालिकाका शिक्षा प्रमुख लगायतको सहभागिता थियो । सहायक प्रमुख जिल्ला अधिकारी बरालले सिसिएमसीले निर्णय नगरेसम्म विद्यालय सञ्चालन गर्न नपाइने बताए । ‘विद्यालय सञ्चालनका लागि प्रशासनले अनुमति दिएको छैन, कोरोना जोखिम कायमै रहेको अवस्थामा विद्यालय बन्द गर्न निर्देशन दिएका छौँ’, बरालले भने ।  व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले विद्यालय खोल्ने अनुमति नभए पनि कतिपय विद्यालयले आफूखुशी विद्यालय सञ्चालन गरेको बताए । ‘विद्यालय खोल्यौँ भनेर कतिपय विद्यालय सञ्चालकहरुले जानकारी गराउनुभएको छ तर हामीले खोल्ने अनुमति दिएका थिएनौँ’, उनले भने, ‘कोभिड जोखिम कायमै रहेकाले अहिले विद्यालय नखोल्नुस् भनेका थियौँ ।’  तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा कायमै छ तर विद्यालयले सबै विद्यार्थीलाई विद्यालयमै बोलाएर भौतिकरूपमा कक्षा सञ्चालन गरिरहेका थिए । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमण थप वृद्धि भइरहेको छ । यस्तो जोखिमकै बीचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  ०७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार