बिपी कोइरालालाई यसरी सम्झिए प्रधानमन्त्री देउवाले,  ‘मेरो अभिभावक हुनुहुन्थ्यो’ 

बिहीबार, साउन ७, २०७८

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला आफ्नो राजनीतिक गुरु मात्रै नभई अभिभावक पनि भएको स्मरण गरेका छन् । उनन्चालिसौँ विपी स्मृति दिवसका अवसरमा दिएको सन्देशमा प्रधानमन्त्री देउवाले विपी कोइरालाको प्रेरणाले नै आफूहरु लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएको उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले आज आफ्नो स्मृति चार दशक अघि उनीसँगकोसामिप्यतामा फर्किएको महसुस गर्दै विपीको मार्गदर्शन जीवनभर आफ्नो प्रेरणा हुने पनि बताएका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनका एक शिखर पुरुष एवं नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाप्रति प्रधानमन्त्री देउवाले श्रद्धासुमन व्यक्त गरेका छन् ।  नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको योगदानको स्मरण गरी बुधबार ३९औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइएको छ ।  नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।  कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।  विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिकाभरमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी विपी कोइराला, प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्री तथा कांग्रेस नेताहरुलाई बन्दी बनाएका थिए । विपी कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । उहाँका कैयौँ कृति नेपाली पाठकबीच लोकप्रिय छन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ०७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार