टोकियो ओलम्पिकको उद्घाटनमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने सम्भावना

बिहीबार, साउन ७, २०७८

टोकियो । जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिताका आयोजकहरूले ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने अपेक्षा गरिएको जानकारी दिए । 
जापानको मन्त्रिपरिषद्का प्रमुख सचिव कात्सुनोबु कातोले पत्रकारहरूसँग भने, ‘१५ देश र अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुखहरूसँगै ७० देशका खेलकुद मन्त्रीहरू उद्घाटन समारोहमा सहभागी हुने देखिएको छ ।’ शीर्ष नेताहरूको उपस्थीतिलाई आफूहरूले उच्च महत्वका साथ लिएको र त्यसलाई महामारीको विषयमा छलफल गर्ने अवसरको रूपमा समेत उपयोग गरिने उनले जानकारी दिए । महामारीले विश्वभरी पारेको असर र त्यसको सामनाका लागि अपनाउनुपर्ने उपाय, राम्रा अभ्यास, अनुभव र सहयोग आदान प्रदानका सन्दर्भमा पनि नेताहरूको उपस्थिति उपलब्धिमूलक हुने आयोजकहरूले अपेक्षा गरेका छन् ।  अघिल्लो वर्ष नै हुनुपर्ने टोकियो ओलम्पिक–२०२० कोरोनाभाइरसको महामारीका कारण एक वर्ष ढिला गरी अहिले हुन लागेको हो ।  प्रतियोगिता यही जुलाई २३ मा सुरु भई आगामी अगस्ट ८ मा सकिने तय भएको छ । प्रतियोगिताका लागि लाखौँ खेलाडी तथा खेल पदाधिकारीहरू अहिले टोकियो पुगिसकेका छन् ।  प्रतियोगितामा कोरोनाभाइरस नफैलियोस् भन्ने उद्देश्यले उच्च सतर्कता अपनाइएको अधिकारीहरूले जानकारी दिएका छन् ।–एएनआई 
 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ०६:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार