जसपाको विधान पारित

मंगलबार, साउन ५, २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठकले पार्टीको विधान पारित गरेको छ । सिंहदरबारमा आज भएको बैठकले सर्वसम्मत रुपमा पार्टीको विधान पारित गरेको हो । बैठकले मन्त्रिमण्डलमा सहभागी हुनेको नाम भने अर्को बैठकले टुङ्गो लगाउने निर्णय पनि गरेको छ । जसपाका कार्यकारिणी समितिका सदस्य एवं सांसद मोहम्मद इस्तियाक राईका अनुसार बैठकमा ‘सङ्घीय संसदीय दलको विधान–२०७८’ को मस्यौदा प्रस्तुत भई छलफलमा सदस्यबाट आएको सुझावलाई समेत समावेश गरी विधान पारित भएको छ । यस्तै, बैठकले प्राप्त सुझावलाई समावेश गर्न सांसदद्वय रामसहाय प्रसाद यादव र राईलाई जिम्मेवारी दिएको छ । उक्त विधानलाई अनुमोदनका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा पठाउने निर्णय गरिएको छ । संसदीय दलको बैठकमा २२ सांसदको उपस्थिति थियो । जसपाको प्रतिनिधि सभामा ३२ सांसद छन् ।  जसपाको संसदीय दल बैठकमा अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत सांसद रहेका छन् । यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता समीकरणका बेला जसपा दुई समूहमा विभाजन भएको थियो । तथापि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा जसपाको दुवै पक्षले मत दिएको थियो । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कतिपय सांसद यादव समूहमा आएका छन ।  जसपाको पार्टी आधिकारिकताको विवाद भने निर्वाचन आयोगमा अड्किएको छ । आयोगले दुवै पक्षको कागजात झिकाएर आवश्यक छलफल गरेर निर्णय लिने छ । दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गरेपछि आयोगले इजलास गठन गरेर पार्टी आधिकारिकताको निष्कर्ष निकाल्ने जनाएको थियो । उक्त सम्बन्धमा साउन ३ गतेदेखि छलफल चलिरहेको छ । आयोगको निर्णयपछि यादव पक्ष सरकारमा सहभागी हुने छ । 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  २०:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार