कोरोना सङ्क्रमण बढ्दै, थप २५ को मृत्यु

मंगलबार, साउन ५, २०७८

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार १०८ पुगेको छ । सोमबार सङ्क्रमितको सङ्ख्या दुई हजार ४४५ थियो भने आइतबार सो सङ्ख्या एक हजार ८०१ रहेको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख २१ हजार दुई पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप आठ हजार ८३६ को पिसिआर परीक्षण तथा चार हजार २९९ को एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट दुई हजार २०२ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ९०६ मा सङ्क्रमण पुष्टि भएको हो । सोमबार सात हजार ८३३ को पिसिआर परीक्षण गर्दा एक हजार ६४२ तथा तीन हजार ८३१ को एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ८०३ मा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै आइतबार छ हजार ६२८ को पिसिआर परीक्षण गर्दा एक हजार २२३ तथा तीन हजारको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५७८ मा सङ्क्रमण पुष्टि भएको थियो ।     हालसम्म छ लाख ३४ हजार ७२७ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ५९५ सङ्क्रमित निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ । सोमबार एक हजार २५८ सङ्क्रमित निको भएर घर फर्किएका थिए भने आइतबार एक हजार ६६७ जनामा सञ्चो भई घर फर्किएका थिए ।  

काठमाडौँ उपत्यकामा ७१९ सङ्क्रमित थपिए 

काठमाडौँ उपत्यकामा पछिल्लो समय ७१९ सङ्क्रमित थपिएका छन् । काठमाडौँका ५३१, भक्तपुरका ४१  तथा ललितपुरका १४७ जना रहेका मन्त्रालयले जनाएको छ । सोमबार उपत्यकामा ४७४ सङ्क्रमित थपिएका थिए । काठमाडौँमा ३३०, ललितपुरमा ५६ तथा भक्तपुरमा ८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै आइतबार उपत्यकामा ३३४ सङ्क्रमित थपिएका थिए भने काठमाडौँका २३४, भक्तपुरका ३६ तथा ललितपुरका ६४ सङ्क्रमित रहेका थिए ।  

२५ सङ्क्रमितको मृत्यु    
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप २५ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६०७ पुगेको मन्त्रालयले जनाएको छ । सोमबार कोरोनाबाट ३२ जनाले ज्यान गुमाएका थिए भने आइतबार कोरोना भाइरसका कारण २३ जनाको मृत्यु भएको थियो ।   
 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  २०:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार